काठमाडौं। नेकपा एमाले नेता महेश बस्नेतले जेनजी आन्दोलनमा तत्कालीन सरकारले नभई लुटिएका हतियारबाट गोली चलाइएको दाबी गरेका छन्। उनले आन्दोलनका क्रममा १२ हजार बन्दुक र २० हजार गोली हराएकाले जेनजी आन्दोलनकारीबाटै गोली हानेर निर्दोषको मृत्यु भएको दाबी गरेका हुन्।
आज साइबर ब्युरोले साइबर क्राइममा बयान लिएपछि आगो बनेका एमाले अध्यक्ष केपी ओली निकट बस्नेतले आतंककारीका मतियारविरुद्ध देशभर उजुरी हाल्ने र चुनावमा त्यस्ता तत्त्वलाई धुलो चटाउने चेतावनी दिए।
उनले संसद् पुनस्र्थापनाका लागि अदालत जाने बताए। ‘त्योभन्दा अगाडि संसद् पुनस्र्थापनाका लागि सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौं।’ यसमा पार्टी आधिकारिक ढंगले जाने वा वकिलमार्फत जाने भनेर अन्तिम छलफल गर्दै छौं।’
नेता बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई चुनौतीसमेत दिए।
जेनजी आन्दोलनमा हतियार प्रयोग भएको दाबी गरे। रास्वपा सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट निकाल्न भूमिका खेलेका डीपी अर्याल, मनिष झा, ज्वाला संग्र्रौलामाथि छानबिन गर्न उनले चेतावनी दिए।
‘कारागारबाट भागेका १४ हजार कैदी कहाँ छन्? ५०० सय चौकी जलाउने क्रममा १२ हजार हतियार लुटिएका छन्। २० हजार गोली लुटिएका छन्, ती कहाँ छन्?’उनले भने।
प्रहरीलाई जिउँदै जलाउनेलाई कारबाही गर्नुको साटो गृहमन्त्रीले सुदन गुरुङलाई गुलेली खेलाउन लगाएको आरोप उनको छ। उनले कुलमान घिसिङले भ्रष्टाचारले गरेको दाबी गर्दै उनीमाथि पनि छानबिन हुनुपर्ने माग गरे।
सरकारको पहिलो टार्गेट केपी ओली र तेस्रो नम्बरमा आफू रहेको दाबी गर्दै नेता बस्नेतलाई पक्राउ गरेर देखाउन सरकारलाई चेतावनी दिए।