काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। एमाले नेता गुप्ता र नाउपा अध्यक्ष श्रेष्ठसहितका अभियुक्तहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ। यस प्रकरणमा अर्का पूर्वमन्त्री एवं एमाले नेता बलराम अधिकारीविरुद्ध पूरक अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ।
घूस डिल अडियोले खुल्यो घोटाला
कास्कीको पोखरा बाटुलेचौरस्थित 'लिची बगान' को १३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा तत्कालीन मन्त्रीहरू, कर्मचारी र बिचौलियाबीचको घूस डिलको अडियो सार्वजनिक भएपछि यो प्रकरण उजागर भएको थियो। सो अडियो प्रयोगशालाबाट पुष्टि भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो। घूस डिल सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुपरेको थियो।
जग्गाको ऐतिहासिक पृष्ठभूमि
यो जग्गा मूलतः राणा परिवारले बिर्ताबापत पाएको हो। विसं १९७९ मा प्रसिद्धजंग नूरप्रतापजंग राणाको पालामा रुद्रशमशेरले आफ्नो बिर्ता दुई छोरी लोकदिव्यश्वरी र दुर्गादेवीका नाममा गरिदिएका थिए। २०१६ सालमा बिर्ता उन्मूलन भयो र बिर्ताबापत प्राप्त जग्गा रैकरमा परिणत गर्नुपर्ने कानुनी व्यवस्था भए पनि राणा परिवारले त्यसो गरेनन्। लोकदिव्यश्वरीले पाल्पा तानसेनका खेमविक्रम शाहसँग र दुर्गादेवीले टेकबहादुर शाहसँग विवाह गरेकी थिइन्।
सुरु भयो जटिलता
२०१७ सालदेखि मुस्ताङबाट झरेका थकालीहरूले राणा परिवारसँग लिखतका आधारमा जग्गा किनेर बस्ती बसाल्न थाले। यसैबीच लोकदिव्यश्वरी शाह र दुर्गादेवी शाहले हरिप्रतापजंग राणासहित ६ जनालाई विपक्षी बनाएर जालसाजी र लिखत बदरको मुद्दा हालिन्।
२९ चैत २०३१ मा कास्की अदालत र ३ माघ २०४० मा तत्कालीन पश्चिमाञ्चल डिभिजन बेन्चले लोकदिव्यश्वरी र दुर्गादेवीकै पक्षमा फैसला गरे। तर २०३२ सम्म हकभोग गरेका मुस्ताङीहरूले २०३३ मा नापी आएपछि आफ्नो नाममा लालपुर्जा निकाले। जग्गा बिक्री भयो र २०५९ मा नयाँ नापी भयो।
४० वर्षपछि फैसला कार्यान्वयन गर्ने प्रयास
कास्कीका प्रमुख मालपोत अधिकृत चिरञ्जीवी पौडेलका अनुसार, २०३६ मा छुट जग्गा दर्ता गर्न र हाल साविक भइसक्दा पनि फैसला कार्यान्वयन गर्न कोही आएको देखिएन। यसैबीच बाटुलेचौरमा बस्ती भरिइसकेको थियो।
फैसला भएको करिब ४० वर्षपछि दुर्गादेवी शाहका नाति दाबी गर्दै सुरज शाह ठकुरी, सुनील शाह ठकुरी र नातिनी बुहारी दाबी गर्दै गीतादेवी शाहले २४ माघ २०८० मा मालपोत कार्यालयमा फैसला कार्यान्वयनका लागि निवेदन बुझाए। बिचौलिया सुजन लामाको सक्रियतामा हकदार खडा गरी यो निवेदन बुझाइएको स्रोतले बताएका छन्।
उल्लेखनीय कुरा के छ भने दुर्गादेवी शाहको ५ वैशाख २०५९ मा नै निधन भइसकेको थियो र उनका पति टेकबहादुरको पहिल्यै निधन भइसकेको थियो।
संदिग्ध करारनामा
भूमिसुधार व्यवस्था तथा सहकारी मन्त्रालयले फैसला कार्यान्वयन गर्न भूमि व्यवस्था विभाग हुँदै मालपोत कार्यालय कास्कीलाई १२ जेठ २०८० मा पत्र पठाएको थियो।नातिनातिनाले निवेदन दिएकै दिन उक्त जग्गा दर्ता भएबापत बिचौलिया र खडा गरिएका हकदारबीच जग्गा विभाजन गर्ने करारनामा पनि भएको पाइएको छ। पोखरा–१६ को वडा कार्यालयमा दर्ता गरिएको उक्त करारनामाअनुसार:
-
३३ प्रतिशत: गीतादेवी, सुरज र सुनील ठकुरीले
-
४० प्रतिशत: यमकुमारी गुरुङले
-
२७ प्रतिशत: देवबहादुर मल्लले
पाउने उल्लेख छ। जग्गा दर्ता गर्दा लाग्ने सम्पूर्ण खर्च स्याङ्जाका देवबहादुर मल्ल र यमकुमारी गुरुङले बेहोर्ने करारमा उल्लेख छ। यस करारनामाको साक्षीमा बिचौलिया सुरज लामाको नाम उल्लेख छ।
यसअघि ९ भदौ २०८० मा लोकदिव्यश्वरीका छोरा भरतविक्रम शाह र उनकी श्रीमती चुम्मन शाहको वारेस बनेर मृगेन्द्र मल्लले पनि मालपोत कार्यालयमा निवेदन बुझाएका थिए, तर प्रक्रिया नपुगेको भन्दै दर्ता अस्वीकार गरिएको थियो।