काठमाडौं। विमानस्थल भन्सारमा विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन छुटाउन दबाब दिएको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराले अदालतमा आफू निर्दोष भएको दाबी गरेका छन्। जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोगपत्रअनुसार महराले सुन तस्करी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको बयान दिएका हुन्।
उनले अदालतमा भनेका छन्, ‘उक्त सुनको अवैध पैठारीमा मेरो कुनै पनि भूमिका छैन। मैले मेरो परिवारका सदस्यलाई कुनै राजनीतिक संरक्षण दिएको पनि होइन।’
महराले आफ्नो बयानमा चिनियाँ नागरिक दाओजिन वाङसँग सञ्चारमन्त्री हुँदा मात्र चिनजान भएको बताएका छन्।उनका अनुसार वाङ आफूलाई फलफूल व्यापारी भन्दै बधाई दिन घरमा आएको बेला भेट भएका थिए। उनले भनेका छन्, ‘दाओजिन वाङले आफूलाई फलफूल व्यापारी भनेका थिए। उनको व्यवसायमा मेरो कुनै साझेदारी छैन ।’
प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई ‘मेरो छोरा आउँछ, हेरिदिनुहोला’ भनेर भनेको आरोप पनि उनले अस्वीकार गरेका छन्। ‘म राजनीतिक व्यक्ति भएकोले धेरै जनासँग भेटघाट र फोनमा कुरा हुने गर्छ । सबै कुरा याद नहुन सक्छ, तर त्यस्तो निर्देशन दिएको छैन,’ उनले भने।
अभियोगपत्रअनुसार महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजाय मागदाबी गरिएको छ। उनीमाथि भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ । २०७९ पुस १० गते फ्लाई दुबईबाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसङले ल्याएका दुई सुटकेसमा शंका लागेपछि भन्सारले जाँच गर्दा इलेक्ट्रोनिक सिगरेट भेप भेटिएको थियो।
त्यसपछि भन्सारले २०८० वैशाख २६ गते सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न आग्रह गरेकाे थियाे। साेही प्रकरणमा पूर्वसभामुख महराको पनि संलग्नता देखिएकाे हाे।