काठमाडौं। कर्णाली प्रदेशको विकट र विकासमा पछि परेको हुम्लामा ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ।
हाल ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले इआइएको काम अगाडि बढाएको हो। रुरु जलविद्युत् परियोजनाले निर्माण गर्ने आयोजना हुम्लाको खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा रहेको छ।
वन मन्त्रालयले यसअघि नै सार्वजनिक सूचनामार्फत इआइएमा आवश्यक सुझा तथा सल्लाह दिन आग्रह गरिसकेको छ। आयोजना निर्माणका लागि कुल ४७ दशमलव १३ हेक्टर जमिन आवश्यक पर्नेछ।
विद्युत् उत्पादनअन्तर्गत ५० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् आयोजनाका लागि वातावरण संरक्षण ऐन, २०७६ अनुसार वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने प्रावधान रही आएको छ।
नदी प्रवाहमा आधारित हुने आयोजना कर्णाली नदी बेसिनको प्रमुख स्रोत हो। बाह्रैमासे हिम नदीका रूपमा परिचित हुम्ला कर्णालीमा निर्माण हुने भएकाले पनि यस आयोजनालाई महत्त्वपूर्ण रूपमा हेरिएको हो । प्रस्तावित आयोजनाको डिजाइन डिस्चार्ज एक सय १८ दशमलव ७० घनमिटर प्रतिसेकेन्ड रहेको छ।
आयोजनामा दुई वटा डाइभर्सन सुरुङ निर्माण हुनेछन्। डाइभर्सन सुरुङको लम्बाइ पाँच सय ४५ मिटर र पाँच सय ४२ मिटर रहनेछ। डाइभर्सन सुरुङको व्यास ९ दशमलव पाँच मिटर रहनेछ।
आयोजनाबाट सुक्खायामका ६०९ दशमलव ८९ गिगावाट घन्टा ऊर्जा उत्पादन हुनेछ भने वर्षायाममा ११८४ दशमलव ८३ गिगावटा घन्टा ऊर्जा उत्पादन हुनेछ।
आयोजनाबाट उत्पादित बिजुली २० किलोमिटर लामो डबल सर्किट चार सय केभी क्षमताको प्रसारण लाइनमार्फत मुगु कर्णाली हबमा जोडिनेछ। आयोजना निर्माण हुँदा ५६ घरधुरी प्रभावित हुनेछन्। यस्तै १८८ वटा रुख कटान गर्नुपर्नेछ।
आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ७६ लाख बराबर रहेको छ। यस्तै, कुल लागत ७२ अर्ब ९० करोड ८० लाख बराबर रहनेछ।