काठमाडौं। सरकारले चालू आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति दिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोड्न महत्त्वपूर्ण मानिएको नलगाड मैनताडा प्रसारण लाइनलाई निर्माण अनुमति प्रदान गरेको छ। सो प्रसारण लाइन ७५ किलोमिटर लामो रहेको छ।
कुल ४०० केभी क्षमताको सो प्रसारण लाइनले २४०० मेगावाट बराबरको बिजुली प्रवाह गर्न सक्ने विभागले जनाएको छ। राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले सो प्रसारण लाइन निर्माण गर्दै छ।
यस्तै, ३३ केभी क्षमताको खोरुंगा खोला प्रसारण लाइन निर्माणका लागि पनि अनुमति दिएको छ। सो प्रसारण लाइन चार दशमलव ३८ किलोमिटर रहेको छ। सो प्रसारण लाइनले चार दशमलव आठ मेगावाट बिजुली प्रवाह गर्छ।
जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली प्रणालीमा जोड्न सो प्रसारण लाइन निर्माण हुन लागेको हो।
यसैगरी सुपर सर्दी खोला हाइड्रोपावरले पनि उत्पादित बिजुली प्रणालीमा जोड्न ३३ केभी क्षमताको तीन दशमलव ६८ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्दै छ। प्रसारण लाइनमा दुई दशमलव नौ मेगावाट बिजुली प्रवाह हुनेछ।
विभागले हालसम्म कूल २७४ वटा साना ठूला प्रसारण लाइन निर्माणका लागि अनुमतिपत्र प्रदान गरिसकेको छ। यस्तै, चालू आवको हालसम्म कुल आठ वटा प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण अनुमति दिइएको छ।
ती आयोजनामा १३२ केभी क्षमताको मध्य चमेलिया रहेको छ। बेल्डिया सोलार पावर परियोजना, फालेखु खोला १३२ केभी प्रसारण लाइन परियोजना, जानकी सोलार पावर प्रसारण लाइन, दूधकोसी पाँचौँ २२० केभी प्रसारण लाइन परियोजना, समुद्रटार लप्सेफेदी २३२ केभी प्रसारण लाइन निर्माणका लागि अनुमति दिइएको छ।
यस्तै, डाडाँखेती बुर्तीबाङ १३२ केभी प्रसारण लाइन र सानी भेरी १३२ केभी प्रसारण लाइन परियोजना छन्। विभागले हालसम्म कुल १४४ प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण अनुमति दिएको छ।
यसैगरी विभागमा हालसम्म सर्वेक्षण अनुमतिपत्रका लागि कुल २१ वटा प्रसारण लाइनको आवेदन परेको छ। त्यसमध्ये चालू आवको हालसम्म मात्रै ११ परियोजनाले अनुमतिका लागि आवेदन दिएका छन्।