काठमाडौं। राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले आफू सुध्रिन तयार रहेको बताएका छन्। उनले देश छाडेर जान भनिएमा पनि त्यसका लागि आफू तयार रहेको उल्लेख गरे।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले भने, ‘तपाईंहरूले भन्नुहुन्छ, दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ भने म रेडी, म जान तयार। म जान्छु। मलाई लोभ हैन। मलाई केही चाहिँदैन।’
२०५७ सालदेखि विभिन्न राजनीतिक दल हुँदै अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै उनले अब विगतका गल्तीहरू सुधारेर देश बनाउन लाग्नुपर्नेमा जोड दिए। उनले भने, ‘ल हिजो जे भयो–भयो, आफैंले बाटो बिर्सियौं। सबैले भुल्यौं। अब त कमसेकम देश जोगाउने, त्यो भुंग्रोमा गएको छ नि नेपाल, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔं।’
आफूलाई मूलधारका मिडियाले कहिल्यै राम्रो नलेखेको गुनासो गर्दै प्रसाईंले भने, ‘तपाईंहरूसँग लडेर आएको हो नि त। मेन स्ट्रिमको मिडियाले त मलाई कहिल्यै राम्रो लेखेन नि, कहिल्यै लेखेन जीवनमा।’
'राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईंले गत चैत १५ गते काठमाडौंको तिनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि पक्राउ परेका थिए। उच्च अदालतको आदेशपछि उनी रिहा भएका थिए।
उनले कात्तिक १५ पछि पुन: प्रदर्शन गर्ने घोषणा गरेका छन्, जसलाई रोक्न गृह मन्त्रालयले उनलाई वार्तामा बोलाएको छ। गृह मन्त्रालयले वार्तामा बोलाएको भोलिपल्ट पत्रकार भेटघाट गर्दै प्रसाईंले सरकारी कदमको स्वागत गरेका छन्। उनले फेसबुकमार्फत वार्तामा बोलाएर जनताको आवाज सुन्ने प्रयास गरेकोमा खुसी व्यक्त गरे।