काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत बैंकले उद्योगीको खाताबाट पैसा झिकेपछि त्यसको प्रत्यक्ष असर उद्योगमा काम गर्ने कर्मचारीमाथि परेको छ ।
बैंकले चैत मसान्तमा असुल गर्नुपर्ने सावाँ ब्याज उद्योगीको खाताबाट सोझै तानेपछि उद्योगीले आफ्ना कामदारलाई तलब खुवाउन नसक्ने भएका हुन् ।
उद्योगीले कर्मचारीको तलब खुवाउन बैंक खातामा राखेको पैसा बैंकले सावाँ ब्याजबापत तिर्नुपर्ने रकम भन्दै तानिदिए पछि उद्योग तथा कर्पोरेट अफिसमा काम गर्ने कामदार भोकभोकै हुने अवस्था आएको हो ।
‘विगत २१ दिन देखि उद्योग धन्दा बन्द छन् । यस्तो अवस्थामा पनि कामदारलाई मासिक दिनुपर्ने सेवा सुविधा दिनुपर्छ भनेर बैंकमा पैसा राखिएको थियो, तर बैंकले थाहै नदिई खाताबाट झिकिसकेछ,’ एक उद्योगीले भने, ‘अब कसरी तलब खुवाउने ? कसैसँग ऋण मागौं भने पनि दिने वाला छैनन्, । बैंकमा पैसा छैन ।’
‘चैत महिना वितिसकेको छ । अब कर्मचारीलाई चैत महिनाको तलब सुविधा दिनुपर्ने बेला आइसकेको छ । कर्मचारीलाई तलब नदिए उनीको दैनिक गुजारा बन्द हुन्छ, दिऊँ भने बैंकले पैसा झिकिदियो,’ ती उद्योगीले भने, ‘यो विपद्का बेला कसरी व्यवस्थापन गर्ने भन्ने विषयले उद्योगीलाई थप पीडा दिएको छ ।’
अहिले एउटा उद्योगमा कम्तिमा पनि १ हजार भन्दा बढी कामदार छन् । देशभर १ हजार भन्दा बढी रोजगारी दिने उद्योग ठूलाभित्र पर्छन् । त्यस्ता उद्योगमा लाखौंको संख्यामा काम गर्छन् । ती कर्मचारीलाई उद्योगीले तलब खुवाउन नसकेको उद्योगीले बताएका छन् ।