काठमाडौं। नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा र प्रमुख निर्जीवन बिमा प्रदायक शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा नेपालीको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै नयाँ स्वास्थ्य बिमा योजना ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक गरिएको छ।
उक्त बिमा योजनाको मुख्य उद्देश्य देशभरका नागरिकहरूलाई सहज, भरपर्दो र डिजिटल माध्यमबाट स्वास्थ्य बिमा सेवा प्रदान गर्नु हो। उक्त योजना ५ वर्षदेखि ६५ वर्ष उमेर समूहका नागरिकहरूका लागि उपलब्ध हुनेछ। सहारा हेल्थ इन्स्योरेन्सअन्तर्गत, बिमितले अस्पताल भर्ना, आकस्मिक उपचार, शल्यक्रिया, औषधोपचार खर्च, ल्याब परीक्षणदेखि दुर्घटना उपचारसम्मको सेवा सुविधा प्राप्त गर्न सक्नेछन्।
बिमा योजना रु. २ लाख, ३ लाख र ६ लाख बिमांकका विकल्पहरूमा उपलब्ध छ, जसको प्रारम्भिक प्रिमियम मात्र रु. १,३९९ बाट सुरु हुन्छ। यस योजनाअन्तर्गत देशभरिका मान्यता प्राप्त अस्पतालमा उपचार गराएर Cash Reimbursement गर्न सकिन्छ। त्यसैगरी, बिमित व्यक्तिले देशभरका शिखर इन्स्योरेन्सका २६ वटा नेटवर्क अस्पतालहरूमा क्यासलेस उपचार सुविधा पनि प्राप्त गर्न सक्नेछन्। साथै, यस योजनामा एक पटकको निःशुल्क टेलिहेल्थ सल्लाह सेवा पनि समावेश गरिएको छ।
ग्राहकले इसेवा एपमार्फत केही मिनेटमै यो बिमा खरिद गर्न सक्नेछन्। यो प्रक्रिया सहज, छरितो र पूर्ण रूपमा डिजिटल हुनेछ र केही सरल चरणहरू पूरा गरेपछि बिमा पोलिसी तुरुन्तै एसएमएस र इमेलमार्फत प्राप्त हुन्छ। यसको शुभारम्भ अवसरमा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने ‘सहारा हेल्थ इन्स्योरेन्सको सुरुवात बिमा डिजिटलाइजेशनको दिशामा अर्को महत्वपूर्ण कोशेढुङ्गा हो। यसले स्वास्थ्य बीमालाई अझ सुलभ, सरल र पहुँचयोग्य बनाउनेछ।’