म्याग्दी। धवलागिरि गाउँपालिका–२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप संकटापन्न रेडपान्डा (हाब्रे) भेटिएका छन् । यसका लागि सो क्षेत्रमा तीन ‘क्यामेरा’ जडान गरिएकामा दुईमा रेडपान्डा भेटिएका हुन्।
‘एक महिनासम्म स्थलगत अध्ययनका क्रममा रेडपान्डाको दिसा भेटिएपछि क्यामेरा ट्यापिङ गरिएको थियो’, जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले भने, ‘सो क्षेत्रमा ६ देखि २५ वटासम्म रेडपानडाको बसोबास भएको हाम्रो अध्ययनबाट पुष्टि भएको छ।’
स्थानीयसहित अनुसन्धानकर्ताको टोलीले धवलागिरिको खिवाङ, मुदी, अर्चे, दर, ताकम, बगर, सिम्कोश, इटली आधार शिविर, मरेनी, लुलाङ, गुर्जाखानी, गुर्जा देउराली क्षेत्रमा समेत रेडपान्डा भए÷नभएको स्थलगत अध्ययन गरेको थियो।
स्थानीयले २०८० असोजमा ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र २०८१ म्ंसिरमा मुनाको दहपातल सामुदायिक वनको बञ्चरेडाँडा क्षेत्रमा हाब्रे भेटिएको तस्बिर भिडियो सार्वजनिक गरेका थिए।
२०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपान्डा नेटवर्क र हिमाली संरक्षण मञ्चका अनुसन्धानकर्ताले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपान्डाको दिसा भेट्टाएका थिए। अनुसन्धानकर्ता लरिसा गौतमले यस क्षेत्रमा रेडपान्डा देखाउन पर्यटक भित्र्याए समुदायमा आम्दानी र रोजगारीको अवसर सिर्जना गर्न सकिने जानकारी दिए।
‘पर्यटकीय राजधानी पोखरादेखि नजिकै पर्ने जलजला क्षेत्रमा रेडपान्डासँगै हिमाल, मनमोहक पहाडी भूगोलको अवलोकन गर्न पाउनु रेडपान्डा पाइने अन्य ठाउँको भन्दा फरक विशेषता छ’, उनले भने, ‘रेडपान्डासँग जोडेर खेलकुद प्रतियोगिता, घरबास र पदमार्ग सञ्चालन गर्न सकिन्छ।’
डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले गुर्जा, लुलाङ र मुनाको जंगलमा रहेका रेडपान्डाको यकिन गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको जानकारी दिए। रातका समय रुखको टोड्कामा बास लिने र दिउँसोमा रुखका हाँगामा बसी आराम गर्ने रेडपान्डा भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भूइँमा झर्ने बताइएको छ।
रेडपान्डाका लागि आवश्यक आहारा निगालो तथा पालिंगो र टोट्का परेका रुख गुर्जा, लुलाङ र मुनाको जंगलमा पर्याप्त छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपान्डालाई संरक्षितको सूचीमा राखिएको छ।–रासस