भोजपुर। उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभा जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब चार करोड खर्चिएपछि अलपत्र बनेको छ।
२०६७ मा निर्माण थालिएको यो पुल १५ वर्षदेखि अधुरो बनेको हो। पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निरास बनेका छन्।
भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार संघीय सरकारको करिब चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको छ। ६ वटा पिलरको आधार (बेस) राखेपछि यहाँको पुल निर्माण अलपत्र रहेको हो।
‘लम्सुवाघाट पुल निर्माणको काम लामो समयबाट अलपत्र छ’, वडाध्यक्ष विसुन्केले भने, ‘राज्यको चार करोड खर्च भएपछि काम अलपत्र पारिएको अवस्था छ। स्थानीय १५ वर्षदेखि पुल बन्ने आशामा बसेका छौँ।’
१७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो। निर्माणका क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्य गम्भीर नबनेको स्थानीय भक्तराज विश्वकर्माले बताए। पक्की पुल नहँुदा आवतजावतमा समस्या रहेको उनको भनाइ छ।
‘राज्यले पुल निर्माणमा बेवास्ता गरेको छ’, उनले भने,  ‘पुल निर्माणको काम १५ वर्षदेखि अलपत्र छ। अलपत्र पुल हेरेर बस्न बाध्य छौँ। यस्ता विषयमा राज्यले ध्यान दिन आवश्यक छ। सरकार यो पुल निर्माणमा गम्भीर बनेन।’
२०६७ मा पुल निर्माण सुरु गरेको निर्माण कम्पनीले सम्झौताअनुसार पुल २०७० मा सक्नुपर्ने थियो। पुल निर्माणको काम किन ढिलाइ भएको भन्ने विषयमा स्थानीय अन्योलमा छन्।–रासस