काठमाडौं। टिभीएसको दोस्रो ईलेक्ट्रिक स्कुटर अर्बिटर नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले बिहीबार एक कार्यक्रममार्फत अर्बिटर नेपाली बजारमा सार्वजनिक गरेको हो।
कम्पनीले अर्बिटरको मूल्य दुई लाख ८१ हजार ९०० रुपैयाँ तोकेको छ। टीभीएस अर्बिटरमा ३.१ किलोवाट आवरको ब्याट्री उपलब्ध छ। यस स्कुटरमा २.५ किलोवाटको बीएलडीसी रियर हब मोटर जडान गरिएको छ। यो स्कुटरमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ११५ किलोमिटरसम्मको रेन्छ दिने आइडीसीले प्रामाणित गरेको छ।
यसको टप स्पिड क्षमता ६८ किलोमिटर प्रतिघण्टा रहेको छ। यसमा कम्पनीले ५ वर्ष अर्थात ६० हजार किलोमिटरसम्मको भेहिकल,ब्याट्री र चार्जिङ वारेन्टी दिइएको छ।
अर्बिटरमा टीभीएस कनेक्ट एप सहितको कलरफुल एलसीडी डिजिटल डिस्प्ले, पूरा एलईडी लाइट सेटअप, एलईडी डीआरएल, ब्लुटूथ कनेक्टिभिटी सिस्टम, टर्न बाइ टर्न नेभिगेसन, लाइभ लोकेसन, ओटीए अपडेट, हिल होल्ड, एन्टी थेफ्ट, क्र्यास अलर्ट, क्रुज कन्ट्रोल, रिजेनेरेटिभ टेक्नोलोजी, मोटर कटअफ टेक्नोलोजी, राइडिङ मोड, रिभर्स मोड, रिभर्स पार्किङ असिस्ट, यूएसबी पोर्ट लगायतका फिचरहरू छन्।
साथै, १६५ एमएम ग्राउण्ड क्लियरेन्स भएको स्कुटरमा पूरा फ्ल्याट सिट, अलोय ह्वील, फ्ल्याट फ्लोरबोर्ड, ३४ लिटरको बुट स्पेस, ट्युबलेस टायर, ड्रम ब्रेक, टेलिस्कोपिक फ्रन्ट र रियर डुअल सक सेटअप दिइएको छ।