काठमाडौं। काठमाडौं महानगरले पाँच करोड २० लाखको लागतमा नरः दे (हाँडीगाउँ)मा रहेको गहनापोखरी पुनः निर्माणको काम सुरु गरेको छ। क्षमा पूजा गरेर थालिएको पोखरीको पुनः निर्माण २०८३ असोज ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने छ।
'हाँडीगाउँ प्राचीन शैलीमा फर्काउने गुरुयोजनाअन्तर्गत हामीले काम गरिरहेका छौँ,' पुनःनिर्माणका विषयमा वडाध्यक्ष वीरेन्द्र प्रजापती भन्छन्, 'मौलिकता र सांस्कृतिक पहिचान, पुनःनिर्माणका मुख्य आधार हुन्। विगतमा भएका कमजोरी सच्याउँदै अहिले हामी प्राचीन शैली पछ्याइरहेका छौँ। सांस्कृतिक मूर्त सम्पदाको पुनःस्थापनामा कापाको यो महत्त्वपूर्ण योजना हो।'
सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई भने, 'कामपाको लगानीबाट सहरले प्राचीन स्वरुप प्राप्त गर्दै छ। यसबाट सबैले गर्व गर्नसक्ने संरचना तयार हुनेछ। हाँडीगाउँ प्राचीन शैलीमा फर्काउने गुरुयोजनाअन्तर्गत हामीले काम गरिरहेका छौँ।'
योजनाका सम्पर्क व्यक्ति वरिष्ठ इञ्जिनियर रवीन्द्र रिजालका अनुसार पोखरी, त्यसको वरिपरी पैदलमार्ग, हरियाली प्रवर्द्धन र सडक आडमा भएका खाली ठाउँमा फल्चा, खेल्ने ठाउँलगायत संरचना हुने छन्।
त्यसमध्ये १३ हजार वर्गफिटमा पोखरी निर्माण हुनेछ। पोखरीको वरिपरी ६ फिटदेखि ८ फिटसम्मको पैदलमार्ग हुनेछ। त्यसको बाहिर कालोपत्र सडक छ।
यसको बाहिर दक्षिणतर्फ एक सय वर्गफिट क्षेत्रफलको ३ कवलको एउटा र उत्तरपट्टी ३१७ वर्गफिट क्षेत्रफल भएको ९ कवलको एउटा फल्चा निर्माण हुनेछ।
दक्षिण-पश्चिममा २९६ वर्गफिट क्षेत्रफलको प्रहरी विट निर्माण हुनेछ। यसको नजिकमा ५९० वर्गफिट क्षेत्रफल भएको भवन निर्माण हुनेछ। जसको तल्लो तलामा पर्यटक सूचना केन्द्र र माथिल्लो तलामा पुस्तकालय हुनेछ।