काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन्। उपत्यकाको महत्वपूर्ण सार्वजनिक स्थालहरूमा निःशुल्क वाइफाइका पहुँच पुर्याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गर्नुभएका सञ्चारमन्त्री खरेलले आज नयाँबसपार्क पगी सेवा शुभारम्भ गरेका हुन्।
सो अवसरमा उनले नयाँबसपार्कसहित उपत्यकाको १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरिएको जानकारी दिए। ‘मन्त्रीको हैसियतले पदबहालीका क्रममा गरेको प्रतिबद्धताअनुसार निःशुल्क इन्टरनेट सेवा जडान सुरु गरेका हौँ, यसलाई विस्तारै उपत्यकाबाहिर पनि विस्तार गर्दै लैजानेछौँ’, सञ्चारमन्त्री खरेलले स्पष्ट गरे।
सरकारले राजधानी काठमाडौंसहित दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तार गर्नेक्रममा काम गरिरहेको जानकारी दिँदै उनले भने, ‘दार्चुला, बझाङ, जाजरकोट र मनाङको तिलिचो बेसक्याम्पमा इन्टरनेट सेवा पुर्याइसकेका छौँ, सोलुखुम्बु, रामेछाप, रौतहट, म्याग्दी, बैतडीलगायतका कमजोर नेटवर्क भएका ठाउँमा प्रभावकारी इन्टरनेट सेवा पु¥याउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ।’
सरकारले सातै प्रदेशका राजधानीमा निःशुल्क इन्टरनेट सेवा पुर्याउने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री खरेलले मुलुकका गाउँ–सहर, सुगम–दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पुर्याउने सन्दर्भमा आवश्यक काम भइरहेको जानकारी दिए।