काठमाडौं। फेसबुकलाई दुरुपयोग गर्दै विभिन्न बैंकको नाममा आकर्षक विज्ञापन र बोनसको प्रलोभन देखाएर ठगी गर्ने एक गिरोहलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले पक्राउ गरेको छ।
ठगीमा संलग्न सिन्धुपाल्चोक, चौतारा साँगागढी चोक नगरपालिका- ११ का ४० वर्षीय राजन गिरी, ओखलढुंगा, चम्पादेवी गाउँपालिका- ८ घर भई हाल काठमाडौं, बुढानिलकण्ठ बस्ने २६ वर्षीया मिना लकान्द्री र भारतको बिहार, पूर्वी चम्पारण, नागा रोड ११, रक्सौल घर भई काठमाडौंको ठमेल बस्ने २६ वर्षीय आदित्य कुमार रहेका छन्।
पीडितले फेसबुकमा राखिएको 'सर्भे' लिंकमा क्लिक गरेपछि आफ्नो बैंक खाताबाट अर्को खातामा रकम ट्रान्सफर (रकमान्तर) भई ठगी भएको भन्दै जाहेरी दिएका थिए। प्रहरीले उनीहरूलाई काठमाडौं, ठमेल, भगवती बहालस्थित छायाँ कम्प्लेक्सबाट पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूबाट प्रहरीले नेपाली तथा विदेशी नगद रकम, विभिन्न बैंकका एटीएम कार्ड, भारतीय नम्बरका सिम कार्ड, मोबाइल तथा क्यासिनो कार्ड समेत बरामद गरेको छ।