काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समग्र चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि प्रतिबद्धताका साथ लाग्ने विश्वास व्यक्त गरेका छन्। आज मन्त्रालयमा चलचित्र विकास बोर्डको संयोजनमा आयोजित चलचित्रकर्मीहरुसँगको अन्तरक्रियामा उनले समग्र चलचित्रको हितका लागि नीतिगत सुधार गरिने उल्लेख गरे।
सञ्चारमन्त्री खरेलले चलचित्रमा देश, समाज र जनतालाई मार्गनिर्देशन गर्ने, नयाँ बहस सिर्जना गर्ने कथावस्तु हुनुपर्नेमा जोड दिए। उनले भने, “सिनेमा समाजको ऐन पनि हो। देश, समाज र जनतालाई मार्गनिर्देशन गर्ने सिनेमाको ‘कन्टेन्ट’ र ‘स्कृष्ट’ बालियो, सन्देशमूलक, गुणस्तरीय र समाजले रुचाउने हुन जरुरी छ।”
मन्त्री खरेलले सिनेमाको कथावस्तु, समय सुहाउँदो दर्शकमैत्री तथा कथावस्तुमा नवीनतम प्रयोग हुन जरुरी भएको उल्लेख गरे। उनले देश र जनताको हित र चलचित्रको हितका लागि आफ्नो अवधिमा प्रभावकारी काम गर्ने विश्वास दिलाए।
मन्त्री खरेलले भने, “देश, जनता र चलचित्रको हितमा हुने कुनै पनि कामको लागि मन्त्रालयकोतर्फबाट साथ सहयोग रहनेछ। मेरो कार्यकालमा चलचित्र क्षेत्रको हितमा कार्यक्रम र कार्ययोजन ल्याउनुस् मन्त्रीकोतर्फबाट कुनै पनि फाइल रोकिने छैन।”
सञ्चारमन्त्री खरेलले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा तत्काल सही व्यक्ति ल्याउन निर्देशन पनि दिए। उनले भने, “सेन्सर बोर्ड र विकास बोर्डसँग समन्वय गरी तत्काल ‘राइट म्यान इन राइट प्लेस’ ल्याउनुस्।”
उनले चलचित्रकर्मीले उडाएका ड्रोन, अनुदान, सामाजिक सुरक्षालगायत विषयमा मन्त्रालयले छलफल गरेर सहजीकरण गर्ने विश्वास व्यक्त गरे। सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र क्षेत्रको दिगो विकासका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताए।