काठमाडौं। वितरणयोग्य नाफा ऋणात्मक भएका आधा दर्जन वाणिज्य बैंकले सेयरधनीलाई प्रतिफल वितरण गर्न नसक्ने भएका छन्। चालू वर्षको पहिलो त्रैमासमा वितरणयोग्य नाफा ऋणात्मक भएका ७ वाणिज्य बैंकको उक्त अवधिको नाफाबाट सेयरधनीलाई लाभांश वितरण क्षमता शून्य भएको हो।
चालू वर्षको पहिलो त्रैमासको नाफाबाट सेयरधनीलाई एभरेष्ट बैंकले ४२.४६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३६.४० प्रतिशतसम्म लाभांश वितरण क्षमता राख्दा ७ वटाको यस्तो क्षमता शून्य छ। उक्त अवधिको नाफाबाट नेपाल बैंक, इन्भेष्टमेन्ट मेगा, हिमालयन, माछापुच्छ्रे, कुमारी, सिटिजन्स र एनआईसी एसिया बैंकले सेयरधनीलाई प्रतिफल दिन सक्ने क्षमता गुमाएका हुन्। उल्लिखित बैंकको वितरणयोग्य नाफा ऋणात्मक हुँदा लाभांश नभएको हो।
वितरणयोग्य नाफा ऋणात्मक हुँदा चालू वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकको समग्र वितरणयोग्य नाफा ग्रोथ ऋणात्मक हुन पुगेको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले समीक्षा अवधिमा १४ अर्ब ६४ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेका छन्। गत वर्षको सोही अवधिमा २१ अर्ब ४३ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएका थिए।
एकवर्षे अवधिमा वाणिज्य बैंकको वितरणयोग्य नाफा ३१.८२ प्रतिशतले ऋणात्मक भएको हो। करोडौं रुपैयाँ खुद नाफा कमाए पनि बैंकले नियामकीय प्रावधानअनुसारका विभिन्न कोषहरुमा पौसा छुट्याउँदा र ऋणीले नियमित नतिरेका कर्जाका नोक्सानी व्यवस्था (प्रोभिजन) गर्दा वितरणयोग्य नाफा ऋणात्मक हुन्छ।
बैंकले कमाएको खुद नाफा राष्ट्र बैंकले साधारण जगेडा कोष, कर्मचारी तालिम कोष, नियामकीय जगेडा कोष, सामाजिक उत्तरदायित्व कोष, विनिमय दरको उतारचढाव (एक्सचेञ्ज फक्चुलेसन) कोष, डिबेन्चर भुक्तानी कोषलगायतमा खुद नाफाको आवश्यकताअनुसारदेखि २० प्रतिशतसम्म छुट्याउन भनेको छ।
यस्तै, बैंकले प्रवाहित कर्जाको १ प्रतिशतदेखि शतप्रतिशतसम्म प्रोभिजनसमेत कमाएको खुद नाफाबाटै गर्नुपर्छ। त्यसैले खुद नाफा सकारात्मक भएका बैंकको समेत वितरणयोग्य नाफा नकारात्मक हुन्छ र लाभांश वितरण क्षमता शून्य हुन्छ।
चालू वर्षको पहिलो त्रैमासमा ७ वटा वाणिज्य बैंकको वितरणयोग्य नाफा ११ लाखदेखि साढे ७ अर्ब रुपैयाँसम्मले ऋणात्मक छ। यिनमा एनआईसी एसिया बैंकको ६ अर्ब ३४ करोड, सिटिजन्सको ४१ करोड, कुमारीको ३ अर्ब ९१ करोड, हिमालयनको ७ अर्ब ५४ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाको १ अर्ब १६ करोड, नेपाल बैंकको ५७ करोड र माछापुच्छ्रेको ११ करोडले वितरणयोग्य नाफा ऋणात्मक छ।
यीबाहेकका १३ बैंकको मात्रै वितरणयोग्य नाफा कुल ४८ अर्ब ९० करोड रुपैयाँ हुन आउँछ। गत वर्षको पहिलो त्रैमासमा ३ वटा वाणिज्य बैंकको मात्रै वितरणयोग्य नाफा ऋणात्मक थियो। १७ वाणिज्य बैंकको वितरणयोग्य नाफा ३० अर्ब ७५ करोड थियो।
चालू वर्षको पहिलो त्रैमासमा वितरणयोग्य नाफा ऋणात्मक नभएका १३ वाणिज्य बैंकको औषत लाभांश क्षमता १७.८१ प्रतिशत छ। गत वर्षको सोही अवधिमा वाणिज्य बैंकको औषत लाभांश क्षमता १६.५५ प्रतिशत थियो।
चालू वर्षको ३ महिनाको नाफाबाट सबैभन्दा बढी एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश वितरणको क्षमता राख्दा नबिलले ३०.१५ प्रतिशत, ग्लोबल आइएमईले २२.९५ प्रतिशत, नेपाल एसबिआईले २१.५५ प्रतिशत, प्राइमले १९.६८ प्रतिशत, सानिमाको १९.२७ प्रतिशत लाभांश वितरण क्षमता छ। बाँकी ७ वटाले १६ प्रतिशतभन्दा कम १.७२ प्रतिशतसम्म लाभांश वितरण क्षमता बनाएका छन्।
