काठमाडौं। राष्ट्रिय स्तरका विकास बैंकहरूले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।
शुक्रबार विकास बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको असोजसम्म खुद नाफा घटेको छ। राष्ट्रिय स्तरका विकास बैंकको खुद नाफा समग्रमा ४५.२० प्रतिशले घटेको हो।
विकास बैंकले ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो वर्षको सोही अवधिमा राष्ट्रिय स्तरका विकास बैंकको खुद नाफा १ अर्ब ४२ करोड ९५ लाख ४७ हजार रुपैयाँ थियो।
कुन बैंकको नाफा कति
चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा सर्वाधिक नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक पहिलो बनेको छ। असोजसम्म गरिमाले २५ करोड ५ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
गत आवको सोही अवधिमा बैंकको खुद नाफा २२ करोड ५७ लाख ४३ हजार रुपैयाँ थियो। तीन महिने अवधिमा बैंकको नाफा ११ प्रतिशतले बढेको हो।
यस्तै, मुक्तिनाथ बैंक दोस्रो नम्बरमा रहेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २८ करोड १८ लाख १९ हजार खुद नाफा कमाएको बैंकले चालू आर्थिक वर्षको सोही अवधिसम्म २२ करोड ४७ लाख ७४ हजार यस्तो नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ। समीक्षा अवधिमा बैंकको खुद नाफा २०.२४ प्रतिशत घटेको हो।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा पनि घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म २३ करोड ९३ लाख ६३ हजार खुद नाफा कमाएको बैंकको सोही अवधिमा १५.१७ प्रतिशतले घटेर २० करोड ३० लाख ४१ हजार रुपैयाँ पुगेको छ।
यस्तै, कामना सेवा विकास बैंकको नाफा १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १७ करोड ४९ लाख ७९ हजार थियो। महालक्ष्मी विकास बैंकको नाफा पनि सामान्य बढेको छ।
गत आर्थिक वर्ष ९ करोड ४२ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको बैंकले चालू आवको तीन महिने अवधिमा ९ करोड ७५ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ। विकास बैंकमध्ये सर्वाधिक नाफा वृद्धि सांग्रिला डेभलपमेन्ट बैंकले गरेको छ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड १ लाख ७९ हजार खुद नाफा कमाएको बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४६.५८ प्रतिशतले बढेर ८ करोड ८२ लाख ११ हजार रुपैयाँ पुगेको छ।
यस्तै, ज्योति विकास बैंकको नाफा ५३ प्रतिशतले घटेर ७ करोड ३ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफा १५ करोड ११ लाख ९० हजार थियो। वित्तीय विवरणअनुसार त्रैमासिक अवधिमा लुम्बिनी विकास बैंकको नाफा ऋणात्मक छ। बैंकको नाफा ३४ करोड ८५ लाख ७७ हजार ऋणात्मक रहेको हो।
