काठमाडौं । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २२ प्रतिशत योगदान पुर्याउँदै आएको घरेलु तथा साना उद्योग कोरोना महामारीबाट थल्लिएपछि त्यसलाई जोगाउन उपायहरूको खोजी सुरू भएको छ ।
नेपालको अर्थतन्त्रमा झण्डै झण्डै ७ खर्ब ४८ अर्ब रूपैयाँबराबरको योगदान घरेलु तथा साना उद्योगको रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । अर्थतन्त्रमा यति ठूलो योगदान गरिरहेको क्षेत्र कोरोना भाइरसको महामारीबाट पिल्सिएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले यसलाई जोगाउने विषयमा आन्तरिक अध्ययन र छलफल थालेका छन् ।
साना तथा मझौला उद्योगले १७ लाख भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् । यो क्षेत्र विगत एक महिनादेखि नराम्ररी प्रभावित भएपछि अर्थमन्त्री डा. खतिवडाले साना तथा मझौला व्यवसायीलाई केही छुट सुविधाहरू दिन सक्ने गरी काम अघि बढाएको बताए ।
के कति क्षति भएको छ, सुरूआती चरणमा त्यसको अध्ययन गर्छाै । अध्ययनको रिपोर्टको आधारमा साना व्यवसायीले लिएको ऋण तिर्ने समय असार भन्दा पर सारिदिने, ब्याजमा केही छुट दिने, विद्युत्मा वा अन्य क्षेत्रमा केही छुट दिने विषयमा छलफल भइरहेको बताए ।
त्यसैगरी, सरकारले यस अघि नै चैत महिनामा सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान सरकारले व्यहोर्ने गर्ने निर्णय गरिसकेको छ । ‘कोरोना महामारी लम्बिँदै जादा र क्षति बढ्दै जादाको स्थितिमा सरकारले हरेक चोटी अपडेट गरेर यी विषयलाई सम्बोधन गर्छ’ उनले भने ।
अर्थविद् प्राडा. विश्वम्भर प्याकुरेलका अनुसार कुनै पनि देशको अर्थतन्त्रको निम्ति साना तथा मझौला व्यवसायी मेरूदण्ड नै हुने गर्छन् ।
ससाना उद्योग तथा व्यापार व्यवसायमा लागेका चिया पसलेदेखि लिएर रेस्टुराँ व्यवसायी अनि मम पसलेदेखि लिएर किराना व्यापारी सबै यसैमा पर्छन् । कोरोना महामारीबाट अहिले सबैभन्दा प्रताडीत यिनै व्यवसायी भएको उनको बुझाइ छ ।
अर्थविद् डा. प्याकुरेलका अनुसार साना र मझौला व्यवसायीले कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशतको योगदानका साथै १७ लाखलाई रोजगारी दिएका छन् । ‘तिनलाई उद्धार गर्ने प्याकेज नबनाए भयानक अवस्था आउन सक्छ’ उनले भने ।