काठमाडौं। गत असोजको बाढीपहिरोका कारण पुगेको क्षतिका कारण बिमा कम्पनीमा ३ अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दाबी परेको छ। गत असोज १७ देखि १९ सम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो।
बिमा प्राधिकरणका अनुसार कुल ४३४ वटा बिमा दाबीको आवेदन परेको छ। प्राधिकरणका अनुसार सम्पत्ति बिमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बिमा २०९, मोटर बिमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बिमा एक र सामुन्द्रिक बिमाका तीन वटा आवेदन परेको छ।
कुल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बिमा दाबी आवेदन परेको छ। सबैभन्दा बढी १९७ वटा बिमा दाबीको आवेदन सुनसरीमा परेको छ यस्तै, इलाममा ६०, काठमाडौं ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बिमा दाबीको आवेदन परेको छ।
प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको २३ अर्ब २३ करोड बराबरको बिमा दाबीको आवेदन परेको छ। यस्तै, गत असारको बाढीपहिरोका कारण भएको क्षतिको कारण ९८ करोड ५९ लाख बराबरको बिमा दाबी आवेदन परेको थियो।
प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको बृद्धिसँगै बिमा कम्पनीमा बिमा दाबीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ। हाल नेपालमा १४ वटा निर्जीवन बिमा कम्पनी, चार वटा निर्जीवन लघुबिमा कम्पनीमा बिमा दाबीको आवेदन परेको हो।