काठमाडौं। गरिमा विकास बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कास्कीको पोखरा महानगरस्थित होटल पोखरा ग्राण्डमा साधारणसभा सम्पन्न भएको छ।
साधारणसभाले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साधारणसभाले बैंकको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको विकास बैंकको २०८२ असार मसान्तको वासलात, आ.व. २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँडफाँड हिसाब, इक्विटीमा भएको परिवर्तनलगायत अनुसूचीहरु पारित गरेको छ। साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने प्रस्तावहरु पारित गरेको छ।
त्यसैगरी, साधारणसभाले विशेष प्रस्तावअन्तर्गत हालको अधिकृत पुँजी वृद्धि गरी ६ अर्ब १० करोड पुर्याउने, काठमाडौंको लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय बालुवाटारमा अवस्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने, हालको छाप र लोगो परिवर्तन गर्ने, प्रबन्ध पत्र, नियमावली संशोधन गर्नेलगायतका प्रस्तावहरु पारित गरेको छ।
हाल विकास बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रहेको छ। यस वार्षिक साधारणसभाबाट पारित भएको ६ प्रतिशत बोनस सेयर वितरणपश्चात विकास बैंकको जारी तथा चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाखभन्दा बढी हुनेछ।
देशभर १२६ शाखा कार्यालय र ५१ एटिए रहेको यस विकास बैंकले नविनतम डिजिटल बैकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ।