काठमाडौं। फ्रेस्को हिमालय कम्पनीले कृषिमार्फत पर्यटन क्षेत्रलाई जोड्नका लागि सामूहिक कफीखेती सुरु गरेको छ।
कम्पनीले कृषिमार्फत पर्यटन क्षेत्रको विकासका लागि स्थानीयस्तरका जनताको सहभागितामा चार जिल्लामा सामुहिक कफीखेती सुरु गरेको हो।
कम्पनीले गोरखाको बारपाक सुलिकोट गाउँपालिका, दोलखाको कालिञ्चोक गाउँपालिका, उदयपुरको लिम्चुङबुङ गाउँपालिका र सङ्खुवासभाको मकालु गाउँपालिका–३ सँगको सहकार्यमा सामूहिक कफीखेती सुरु गरेको कम्पनीका अध्यक्ष देवेन्द्र पोखरेलले जानकारी दिए।
उनका अनुसार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा एक हजार रोपनी, दोलखाको कालिञ्चोक गाउँपालिकामा एक हजार रोपनी, उदयपुरको लिम्चुङबुङ गाउँपालिका ५०० रोपनी र सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा २०० रोपनी क्षेत्रफलमा कफीखेती गरिएको छ।
उक्त कम्पनीले स्थानीय स्रोतसाधनको प्रयोग गरेर कफी नर्सरीको उत्पादन, स्थानीय महिलालाई रोजगारीसमेत प्रदान गर्दै आइरहेको छ।
“सामूहिक कफी खेतीमार्फत स्थानीयलाई आयआर्जनमा जोड्ने प्रमुख लक्ष्यका साथ यो परियोजना सुरु गरेका हौँ, हामीले स्थानीय तहमा पुगेर कफीको वेर्ना उत्पादन, किसानलाई कफीखेतीसम्बन्धी तालिम, बिरुवाको वितरणलगायतका काम गरी किसानबाट उत्पादित कफीलाई खरिद गर्ने गरेका छौँ”, अध्यक्ष पोखरेलले भने।
कम्पनीले स्थानीयस्तरमा उत्पादित कफीलाई सोही स्थानको ‘ब्राण्ड’ बनाएर स्वदेश तथा विदेशमा बिक्री वितरण गर्दै आएको छ। सामूहिक कफीखेतीसँगै कम्पनीले स्थानीय तहमा घरवास (होमस्टे) सञ्चालनका लागिसमेत प्रोत्साहन गर्दै आएको छ।
उक्त स्थानमा उत्पादित कफी हाल प्रतिकिलो नेपालमा तीन हजारमा बिक्री वितरण गरिँदै आएको छ। विसं २०७६ मा स्थापित उक्त कम्पनीेले स्थानीय तह, कृषि सहकारी, किसान र पर्यटन सङ्घ संस्थासँगको सहकार्यमा काम गर्दै आएको छ।