काठमाडौं। राष्ट्र बैंकद्वारा सार्वजनिक आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ५.५१ प्रतिशत रहने अनुमान गरिएको छ। यो राष्ट्रिय औषतभन्दा बढी हो।
विदेशी पर्यटक आगमनमा २६ प्रतिशतको उल्लेख्य वृद्धि र होटल अकुपेन्सीमा सुधार आएसँगै प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सेवाक्षेत्रको ५५.८ प्रतिशत ठूलो योगदान रहने देखिएको छ। यसले प्रदेशको अर्थतन्त्रलाई गति दिन पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका स्पष्ट पारेको छ, यद्यपि शिक्षा र औद्योगिक क्षेत्रमा केही चुनौती भने कायमै छन्।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल गार्हस्थ उत्पादन उपभोक्ता मूल्यमा ४.६१ प्रतिशतले वृद्धि हुने अनुमान छ। गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०८१/८२ को कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवाक्षेत्रको योगदान क्रमशः २५.६ प्रतिशत, १२.४ प्रतिशत र ६२.० प्रतिशत रहने अनुमान छ।
राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१÷८२ मा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ५.५१ प्रतिशत रहने अनुमान छ। प्रदेशको कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवाक्षेत्रको योगदान क्रमशः २७.८ प्रतिशत, १६.५ प्रतिशत र ५५.८ प्रतिशत रहने अनुमान छ।
कृषि क्षेत्रः समीक्षा वर्षमा गण्डकीका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब १.११ प्रतिशतले ह्रास आई ४ लाख ३१ हजार ३८५ हेक्टर कायम भएको छ। तरकारी, फलफूल, मसला, चिया र कफी खेतीले ढाकेको क्षेत्रफल क्रमशः ०.३१ प्रतिशत, ६.३५ प्रतिशत, २.१३ प्रतिशत, १.०४ प्रतिशत र ४.६१ प्रतिशतले वृद्धि भएको छ भने खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा १.५५ प्रतिशतले कमी आएको छ।
समीक्षा वर्षमा प्रमुख कृषि बालीको उत्पादनमा ४.८६ प्रतिशतले कमी आएको छ । खाद्य, नगदे तथा अन्य बाली र फलफूलको उत्पादनमा क्रमशः ९.०५ प्रतिशत र ०.४८ प्रतिशतले कमी आएको छ भने तरकारी, मसला, कफी र मह उत्पादनमा क्रमशः १०.९८ प्रतिशत, ५.२६ प्रतिशत, ४७.९५ प्रतिशत, ६९.६९ प्रतिशतले वृद्धि भएको छ।
समीक्षा वर्षमा पशुजन्य उत्पादनतर्फ दूध उत्पादन १.२५ प्रतिशत र माछाको उत्पादन ०.७४ प्रतिशतले ह्रास आएको छ भने मासु र अन्डा उत्पादनमा क्रमशः १.३६ प्रतिशतलेर ४.८५ प्रतिशतले वृद्धि भएको छ । वनजन्य उत्पादनतर्फ काठ उत्पादनमा ३१.३५ प्रतिशतले र दाउरा उत्पादनमा १३.६८ प्रतिशतले वृद्धि भएको छ।
समीक्षा वर्षमा गण्डकी प्रदेशमा बैंक तथा वित्तीय संस्थाले कृषि, वन र माछापालन क्षेत्रमा २४ अर्ब ६ करोड कर्जा लगानी गरेका छन् । यो रकम यस प्रदेशमा प्रवाहित कुल कर्जाको ६.७४ प्रतिशत रहेको छ।
उद्योग क्षेत्रः समीक्षा वर्षमा अध्ययनमा समेटिएका उद्योगको औषत उत्पादन क्षमता उपयोग ३९.१९ प्रतिशत रहेको छ। गत आर्थिक वर्षमा यस्तो अनुपात ३९.२० प्रतिशत थियो। समीक्षा वर्षमा चाउचाउ, क्याप्सुल औषधी, बियर, चुरोट, प्रशोधित दुध, ड्राई सिरप औषधी र तोरीको तेलको उत्पादनमा वृद्धि भएको छ भने ईटा, ओइन्टमेन्ट औषधी, ट्याब्लेट औषधी, चकलेट, लिक्विड औषधी, बिस्कुट र सिमेन्टको उत्पादनमा कमी आएको छ ।
यस्तै, बैंक तथा वित्तीय संस्थाले गन्डकीमा प्रवाहित कुल कर्जाको ७.८२ प्रतिशत अर्थात् २७ अर्ब ९१ करोड कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन्।
सेवाक्षेत्रः समीक्षा वर्षमा गण्डकी प्रदेशमा विदेशी पर्यटक आगमन संख्या २६ प्रतिशतले वृद्धि भई ६९ हजार ४ सय ९१ रहेको छ। त्यस्तै, होटलको शैया संख्या विक्री ३.८ प्रतिशतले वृद्धि भई ७५ हजार ४ सय १९ रहेको छ भने अकुपेन्सी ३१.८४ प्रतिशत रहेको छ, जुन गत वर्ष ३१ प्रतिशत थियो। पछिल्लो समय आन्तरिक तथा बाह्य पयर्टनमा सुधार आएकोले सेवा क्षेत्रमा तदनुरुपको सकारात्मक प्रभाव देखिएको हो।
समीक्षा वर्षमा २५ हवाई कम्पनीमार्फत १४ हजार १ सय ५८ पटक उडान भएको छ। हवाई कम्पनीको सिट उपयोग क्षमता ७९.१३ प्रतिशत रहेको छ । गत वर्ष हवाई कम्पनीको सिट उपयोग क्षमता ७७.८५ प्रतिशत थियो।
समीक्षा वर्षमा उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति उच्च रहनु, बसाईसराई, प्राविधिक तथा व्यवसायिक तालिमको व्यवस्था पर्याप्त मात्रामा हुन नसक्दा विश्वविद्यालयमा विद्यार्थीको संख्या ५.३१ प्रतिशत ह्रास देखिए पनि शिक्षक संख्यामा १.३३ प्रतिशतले वृद्धि देखिएको छ। साथै, विद्यार्थी संख्यामा आएको कमीले क्याम्पस गाभिएका छन्, जसले गर्दा क्याम्पसको संख्यामा ३.१३ प्रतिशतले कमी आएको छ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १४.६ प्रतिशतले वृद्धि भई ६ खर्ब १२ अर्ब २९ करोड पुगेको छ। कुल कर्जा प्रवाह २.३ प्रतिशतले वृद्धि भई ३ खर्ब ५६ अर्ब ९२ करोड पुगेको छ। पर्यटन क्षेत्रमा प्रवाहित कर्जा रकम गत वर्षभन्दा ०.५६ प्रतिशतले वृद्धि भई २३ अर्ब ८९ करोड पुगेको छ।
पूर्वाधार र रोजगारीः राष्ट्रिय गौरवका आयोजनामध्ये कालीगण्डकी करिडोरअन्तर्गतको मालढुंगा–राम्दी–गैडाकोट खण्डको भौतिक प्रगति करिब ८० प्रतिशत र बेनी–जोमसोम खण्डको भौतिक प्रगति करिब ८७ प्रतिशत रहेको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत गोरखा–लमजुङ खण्डको भौतिक प्रगति ७७ प्रतिशत र कास्की–पर्वत– बाग्लुङ खण्डको भौतिक प्रगति ८२ प्रतिशत छ।
तनहुँ जलविद्युत आयोजना तथा बुढिगण्डकी जलविद्युत आयोजनाको भौतिक प्रगति क्रमशः ६७ प्रतिशत र १६.५५ प्रतिशत रहेको छ। गण्डकीका ५९ स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेका छन्। ७८९ आयोजनामार्फत कुल ४४५ व्यक्तिले औषतमा ४८ दिन रोजगारी पाएका छन्।