काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा खाद्यान्न आयात घटेको देखिएको छ। भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा साढे ३५ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ।
अघिल्लो आर्थिक वर्षमा २०८१/८२ को सोही अवधिमा ३६ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको थियो। त्यसको तुलनामा चालु वर्षमा करिब करिब १ अर्ब रुपैयाँले आयात घटेको हो।
भन्सार विभागका अनुसार, चाल आर्थिक वर्षको सात महिनामा ३५ अर्ब ६२ करोड ९० लाख १८ हजार रुपैयाँको खाद्यन्न आयात भएकोमा गत आर्थिक वर्षमा ३६ अर्ब ३५ करोड ७३ लाख २९ हजार रुपैयाँ बराबारको खाद्यन्न आयात भएको हो।
नेपालले खाद्यन्नमा ब्यापार घाटा व्यर्होदै आएपनि निर्याततर्फ भने केही सुधार देखिएको छ। चालु आर्थिक वर्षको सात महिनामा ५ करोड ४६ लाख ६३ हजार रुपैयाँ बराबरको खाद्यान्न निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ करोड २३ लाख ६८ हजार रुपैयाँको मात्र खाद्यन्न निर्यात भएको थियो।
यद्यपि, नेपालमा खाद्यन्न आयात उच्च र निर्यात न्यून हुँदा व्यापार घाटा ठूलो नै देखिएको छ। चालु आर्थिक वर्षमा ३५ अर्ब ५७ करोड ४३ लाख ५५ हजार रुपैयाँ व्यापार घाटा भएको छ। अघिल्लो आर्थिक वर्षमा ३६ अर्ब ३३ करोड ४९ लाख ६१ हजार रुपैयाँ थियो।
राजस्व संकलन भने घटेको छ। चालु आवको सात महिनामा खाद्यान्न आयातबाट २ अर्ब २७ करोड १७ लाख ८७ हजार रुपैयाँ राजस्व उठेको छ। अघिल्लो आर्थिक वर्षमा भन ३ अर्ब २२ करोड १८ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
खाद्यान्न आयातमा केही गिरावट आएपनि निर्यात अझै न्यून भन्सार विभागको तथ्यांकमा उल्लेख छ। साथै राजस्व संकलनमा आएको कमीले सरकारको आम्दानीमा समेत दबाब देखिन्छ।