काठमाडौं। चिनियाँ पक्षको अवरोधका कारण तातोपानी भन्सार हुँदै आउने कन्टेनरको संख्या न्यून छ। तिहारपछि सञ्चालनमा आएको तातोपानी नाकामा चीनबाट दैनिक ३ देखि ५ वटा कन्टेनर मात्र पठाइँदा नेपाली व्यवसायी मारमा परेका हुन्।
हिमालयन सिमापार व्यापार संघ अध्यक्ष रामहरि कार्कीले तातोपानी नाकाबाट मुस्किलले दैनिक ५ वटा कन्टेनर मात्र छुट्ने गरेको बताए। पर्याप्त मात्रामा कन्टेनर नपठाउँदा बजारमा जाडोका लुगा र अन्य सामान आयातमा समस्या भइरहेको उनको भनाइ छ।
‘बाटो सहज हुँदा पनि चीनबाट कन्टेनर कम पठाएपछि महावाणिज्य दूतावासमार्फत ध्यानाकर्षण गराएका छौं,’ अध्यक्ष कार्कीले भने, ‘चिनियाँ पक्षसँग कुरा गरेर सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ।’
नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधारले चीनको स्थानीय तहले नै कन्टेनर रोकेर थोरै मात्र पठाउने गरेको जानकारी दिए। ‘के कारणले थोरै कन्टेनर पठाएको भन्ने हामीले पनि बुझ्न सकेका छैनौं,’ अध्यक्ष तुलाधारले भने, ‘चिनियाँ दूतावासको सहयोगमा अहिले निरन्तर छलफल भइरहेको छ। सम्भवतः अबको केही दिनदेखि सहज हुन सक्छ।’
सामान्य अवस्थामा दैनिक १०० देखि २०० वटा सम्म कन्टेनर सामान आउने गरेको छ। यो बेला चीनबाट जाडोका लुगाहरु धेरै आउने गरेको थियो। रसुवागढी नाका पहिरोका कारण बन्द रहेको र कोरोला हिउँ परेपछि बन्द हुँदा चीनसँगको व्यापारिक नाका तातोपानी मात्र रहेको छ। अहिले तातोपानी नाकामा पनि पर्याप्त मात्रामा कन्टेनर पठाउन छाडेपछि व्यवसायी समस्यामा पर्न थालेको गुनासो बढिरहेको छ।
खासगरी जाडो मौसमका लागि ल्याउन लागिएको न्याना कपडासमेत पर्याप्त आउन नसक्दा बजारमा पठाउन समस्या भइरहेको व्यवसायीको भनाइ छ। भारतबाट आउने भन्दा चीनबाट ल्याइने कपडा सस्तो हुने भएकाले धेरै नेपालीको रोजाइ चिनियाँ सामानमै परिरहेको हुन्छ।
मारमा व्यवसायी
रसुवागढी लामो समयदेखि बन्द रहेको र कोरोला हिउँका कारण बन्द हुने भएपछि एक मात्र तातोपानी नाकामा पनि चिनियाँको अघोषित अवरोध छ। सोही कारण चीनबाट सामान ल्याएर नेपालमा व्यापार गर्ने ठूला तथा साना व्यवसायी मारमा परेका छन्।
नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्ल चीन जोड्ने नाका पूर्ण रुपमा सञ्चालन नहुँदा धेरै व्यवसायी मारमा परेको बताउछन्। चीनबाट सिजन अनुसारको सामान आउने गरेको बताउँदै बेलाबेलामा हुने अवरोधले व्यवसायीलाई ठूलो घाटा लाग्ने गरेको उनको भनाइ छ।
‘अर्बौं रुपैयाँ राजस्व संकलन गर्ने नाकालाई दीर्घकालीन रुपमा सञ्चालन गर्ने र कुनै पनि अवरोध हुन नदिन सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्छ,’ पूर्वअध्यक्ष मल्लले भने, ‘यसले व्यवसायीलाई मात्र हैन, मुलुकलाई पनि घाटा भइरहेको छ।’
पटक–पटक बन्द भैरहन्छ तातोपानी नाका
प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चीन जोड्ने दुई ठूला नाका तातोपानी र रसुवागढी बन्द हुने र खुल्ने भइरहन्छन्। प्राकृतिक विपत्तिले निम्त्याउने बाढीपहिरो, कोभिड महामारी होस् या चीनले विभिन्न वहाना बनाउँदा दुई ठूला नाका बर्सेनि बन्द हुँदै, खुल्ने गर्छन्।
नेपालका उत्पादनको व्यापारका लागि दोस्रो ठूलो साझेदार चीन जोड्ने नाका बेलाबेला बन्द भइरहँदा त्यस क्षेत्र हुँदै आयात–निर्यातकर्ता व्यवसायी मात्र होइन, उपभोक्तामा समेत प्रत्यक्ष असर पुगेको हुन्छ।
२०७२ भूकम्प होस् या त्यसपछिका विभिन्न प्राकृतिक विपत्ति। चीन जोड्ने उत्तरी नाका तातोपानी र रसुवागढी बर्सेनि बन्द भइरहेका छन्। सामान्य बर्खामा पनि पहिरो झर्ने र बाटो अवरुद्ध हुने समस्या वर्षौंदेखिको हो। राजधानी काठमाडौंबाट चीनको व्यापारिक क्षेत्र खासा १२४ किमि र रसुवागढी १६४ किमि दूरीमा पर्छन्।