काठमाडौं। पछिल्लो समय भारतीय पर्यटक आफ्नै सवारी साधन लिएर पोखरा आउनेको संख्या ह्वात्तै बढेको छ। होटल संघ पोखरासहित विभिन्न पर्यटनसँग आबद्ध संघसंस्थाले भारतका विभिन्न सहरमा गएर चलिए पोखरा भन्ने अभियान सुरु गरेसँगै त्यसको प्रभाव स्वरुप अहिले ‘ड्राइभ टुरिजम’ उल्लेख्य बढेको हो।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पछिल्लो वर्ष भारतीय पर्यटकहरू निजी सवारी साधान लिएर आउनेको संख्या बढेको बताए। ‘निजी सवारी र भाडाका गाडीहरू ल्याएर पोखरा हुँदै मुक्तिनाथसम्म जानेहरूको संख्या अहिले बढिरहेको छ,’ पूर्वअध्यक्ष श्रेष्ठले भने, ‘पर्यटकको चहल पहलसमेत बढेको छ।’
विशेष गरी भारतका सीमावर्ती तथा ठूला सहरबाट निजी कार, जीप र मोटरसाइकलमार्फत पोखरा आउने पर्यटकको संख्या बढ्दै जाँदा स्थानीय पर्यटन व्यवसायमा नयाँ चलायमानता देखिएको उनले बताए।
भारतमा मध्यम वर्गको आय स्तर बढ्नु, निजी सवारी साधनको पहुँच विस्तार हुनु र लामो दुरीको ‘रोड ट्रिप’लाई मनोरञ्जनको रुपमा लिने संस्कार विकास हुनु ड्राइभ टुरिजमको मुख्य कारण हो। नेपाल-भारत खुला सिमाना, भिसा झन्झट नहुनु र पोखराको प्राकृतिक सौन्दर्यले भारतीय पर्यटकलाई सहजै आकर्षित गर्छ।
कोभिडपछि समूहमा बस चढेर यात्रा गर्नेभन्दा सानो परिवार वा साथीभाइसँग निजी सवारीमा घुम्ने ट्रेन्ड बढ्नुले पनि पोखरातर्फ सीधैँ ड्राइभ गरेर आउने पर्यटक बढाएको छ।
बढ्दो ड्राइभ टुरिजमलाई लिएर पोखराका यातायात व्यवसायीहरू भने असन्तुष्ट देखिएका छन्।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले भारतसहित चीनबाट समेत निजी सवारी साधान लिएर पोखरा घुम्न आउनेको संख्या बढ्न थालेको बताए। कतिपय अवस्थामा ती सवारी साधानले स्थानीय तहको नीति नियम पालना नगरेको र स्थानीय ठाउँको पर्याप्त जानकारी नहुँदा केही समस्या भएकाले सकेसम्म सरोकारवाला निकायसँग समन्वय गर्नसमेत आवश्यक रहेको उनले बताए।
निजी सवारी साधान लिएर घुम्न जाने ट्रेण्ड विश्वभर फैलिरहेको बताउँदै भारत र चीनबाट आउने पर्यटकलाई सहजीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ। ‘पोखरेलीको लामो समयको प्रयासपछि ड्राइभ टुरिजमको संख्या बढ्नु सुखद हो,’ प्रमुख लामिछानेले भने, ‘कतिपय ठाउँमा मौसमको जानकारी नहुँदा समस्या उत्पन्न हुने भएकोले सबैसँग समन्वय गर्न आवश्यक रहेको छ।’
पहेंलो नम्बरको गाडी रोक्न खोज्दै यातायात व्यवसायी
बढ्दो ड्राइभ टुरिजमलाई लिएर पोखराका यातायात व्यवसायी भने असन्तुष्ट देखिएका छन्। उनीहरूले भारतीय नम्बर प्लेटका निजी सवारी साधनले आन्तरिक सार्वजनिक यातायात व्यवसायमा प्रत्यक्ष असर पारेको दाबी गर्दै ती सवारीलाई सिमित गर्न दबाब दिन थालेका छन्।
एक साताअघि पोखराका यातायात व्यवसायीले भारतबाट आउने सवारी साधनलाई रोक्दै नेपाली गाडी प्रयोग गर्न दबाब सिर्जना गरेका छन्। पोखरा एक पर्यटन व्यवसायीका अनुसार यातायात व्यवसायीले पोखरासम्म भारतीय गाडीमा आउन दिने र त्यहाँ आएपछि निलो नम्बर प्लेटको गाडी प्रयोग गर्न दबाब दिँदै आएका छन्। ‘यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको मिलेमतोमा यातायात व्यवसायीहरुले केही भारतीय सवारी साधानका चालकलाई दुर्व्यवहारसमेत गरेको छ,’ ती व्यवसायीले भने।
‘भारतीय सवारी साधानलाई रोक्न खोज्नु गलत हो,’ ती पर्यटन व्यवसायीले भने ‘पोखरामा रहेका यातायात व्यवसायीहरुले मन लाग्दी गरेको गुनासो यसअघि धेरै आएको थियो। अहिले फेरि सुरुवात गरेका छन्। यो राम्रो हैन।’
पोखरासम्म भारतीय गाडीमा आएर त्यसपछि भने स्थानीय सवारी साधान पनि प्रयोग गरे मुस्ताङलगायतका गन्तव्यमा जान सुझाव दिइरहेको उनले बताए।
नेपाल टुरिष्ट भेइकल एशोसिएन पोखराका अध्यक्ष दुर्गादत्त दाहालले भारतीय पहेलो प्लेटको गाडीले आफूहरुको व्यापार व्यवसाय संकटमा पारेको बताए। ‘निजी सवारी साधनलाई कुनै समस्या छैन,’ अध्यक्ष दाहालले भने, ‘जसले भाडाका गाडी पटक-पटक लिएर आउने गर्छन्। तिनलाई केही सम्झाइबुझाइ गरिएको हो।’
पोखरासम्म भारतीय गाडीमा आएर त्यसपछि भने स्थानीय सवारी साधान पनि प्रयोग गरे मुस्ताङलगायतका गन्तव्यमा जान सुझाव दिइरहेको उनले बताए। कतिपय सवारी साधानले रोड परमिट नलिएको र दुर्घटनाको जोखिम बढाएको भन्दै त्यस्ता सवारी साधानलाई सम्झाई बुझाई गरेको अध्यक्ष दाहालको भनाइ छ।
अहिले पोखरा क्षेत्रमा मात्रै करिब एक हजार ३०० भन्दा बढी टुरिष्ट भेइकल सञ्चालनमा रहे पनि भारतीय सवारी साधानका कारण ती सबै समस्यामा परिरहेको उनले बताए।
मुक्तिनाथको नकारात्मक प्रचार
भाडामा ल्याउने सवारी साधानले एकै दिनमा मुस्ताङमा पुर्याउने र पहाडको बाटाको राम्रो ज्ञानसमेत नहुँदा दुर्घटना हुने क्रम बढेको जनाएको छ। मुक्तिनाथ दर्शनका क्रममा बर्सेनी धेरै भारतीय पर्यटकले ज्यान गुमाउनु परेको बताउँदै त्यसको प्रमुख कारक सवारी साधान चालकको लापरबाही भएको बताउँछन्।