नेपाल र भारतबीचको खुला सिमाना केवल दुई देशका जनताका लागि मात्र नभएर सीमा क्षेत्रमा रहेका विभिन्न वन्यजन्तु संरक्षण निकुन्जका वन्यजन्तुले पनि यसको उपयोग गर्छन्। नेपालको तराई भूभागका जंगल क्षेत्र भारतका जंगल क्षेत्रसँग जोडिएका छन्। यसले यहाँ वन्यजन्तु आवागमन पनि निकै हुने गर्दछ।
पश्चिम नेपालको बर्दिया राष्ट्रिय निकुन्ज र भारतको उत्तर प्रदेशस्थित कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीका जंगली हात्तीको परम्परागत बसाइँ सर्ने बाटो हो। त्यहाँ हरेक वर्ष कयौं जंगली हात्ती बसाइँसराइ गरी नेपाल र भारत आवतजावत गर्छन्। मानव निर्मित संरचना, बस्ती, खेती, तारबार आदिले हाल जंगली हात्तीको परम्परागत बाटो मासिएको छ, जसको कारण मानिससँग उनीहरुको द्वन्द बढ्दो छ। खानेकुराको खोजी र वर्षाको पानीबाट बच्न यी हात्ती बसाइँ सर्ने गर्छन्।
प्रत्येक वर्ष यिनको बसाइँ सर्ने बाटोमा मानव निर्मित संरचना थपिँदै छन्, जसले गर्दा हात्ती र मानिसबीच द्वन्द्व बढ्दो देखिन्छ। हात्तीको समूहको नाइके जहिले पनि पोथी हात्ती हुन्छ भने धेरै जसो समूहमा एउटा ठूलो भाले हात्ती हुन्छ, जसले बढीगार्डको काम गर्छ।
एउटा हात्ती बच्चा हुँदा जुन बाटो हिँड्छ, बूढो हुँदासम्म पनि त्यही बाटो हिँड्ने गर्छ। उनीहरुलाई खानेकुरा र खनिज कहाँकहाँ पाइन्छ भनेर थाहा हुन्छ। हात्तीलाई परम्परागत बाटोबाट हिँड्न मात्र दिने हो भने पनि मानव वन्यजन्तुबीचको द्वन्द्व र त्यसबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ। तर, हाम्रा बाटोघाटो, नहर, खेती गर्ने जमिन आदि उनीहरुको बाटोमा परेको छ। पूर्वाधार पनि वन्यजन्तुमैत्री छैनन्।














तस्बिर: दृष्टान्त विडारी