काठमाडौं। आगामी मंसिर १ देखि सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा प्रदर्शनका लागि राखिएको एआईमा आधारित रोबोट डग यतिबेला त्रिवि ग्राउन्ड कीर्तिपुरमा सबैको नजरमा परिरहेको छ।
नेपाली नाम ‘चंखे’ राखिएको यो रोबोटले कीर्तिपुर खेलमैदान पुग्ने जोकोहीलाई आकर्षित गरिरहेको छ। सामाजिक सञ्जाल फेसबुल, ट्वीटर, टिकटक जताततै चंखे कतै दौडिएको, कतै क्रिकेट मैदान पुग्नेसँग हात मिलाइरहेको दृश्य देख्न सकिन्छ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित रोबोट डगको नाम ‘चंखे’ राखिएको छ। चंखे राखिनुको अर्थ ओमोडा एन्ड जेइकोले फेसबुकमार्फत आएका सुझावमध्येबाट नाम छनोट गरिएको बताएको हो। नेपाली बजारमा एसपीजी अटोमोबाइल ओमोडा एन्ड जेइकोको आधिकारिक बिक्रेता हो।
कम्पनीले खेलाडी र दर्शकका लागि विशेष आकर्षणको रूपमा चारखुट्टे मेकानिकल कुकुर प्रदर्शनमा राख्नेछ। रोबोटलाई नेपाली नाम दिन उसले सामाजिक सञ्जालमार्फत आह्वान गरेको थियो। कम्पनीले चंखे नाम सिफारिस गर्ने फेसबुक प्रयोगकर्तालाई उपहार दिइने जनाएको छ।
कम्पनीका निर्देशक गौरव शारडाले इन्डियन प्रिमियर लिग (आईपीएल)सहित अरू अन्तर्राष्ट्रिय क्रिकेट र फुटबल लिगमा प्रयोग गरिनेजस्तै ‘रोबोट डग’ ल्याइएको बताए। रोबोटले बललाई मैदान लैजाने ल्याउनेसँगै अरू प्रयोजनमा पनि प्रयोग गरिने उनको भनाइ छ।
कम्पनीका अनुसार उक्त रोबोट डगले मैदानमा दौडिन, उफ्रिन र विभिन्न आवाजका आदेशमा प्रतिक्रिया जनाउन सक्छ। अत्याधुनिक प्रविधिमा बनेको रोबोटमा क्यामेरा पनि जडान गरिएको छ। यसले मैदानको प्रत्यक्ष दृश्य कुकुरको नजरबाट दर्शकसमक्ष पुर्याउने कम्पनीको भनाइ छ।
डायनामिक मेकानिकल रोबोट चीनको चेरी अटोमोबाइलअन्तर्गतको ओमोडा–जेइको सब–ब्रान्डले निर्माण गरेको हो। कम्पनीका अनुसार रोबोट डग एइमोगा टेक्नोलोजिज प्रविधिमा आधारित छ। ओमोडा एन्ड जेइकोले एनपीएल दोस्रो सिजनमा पनि ‘म्यान अफ द टुर्नामेन्ट’ विजेतालाई प्रिमियम गाडी उपहारस्वरूप दिने घोषणा गरेको छ।
त्रिवि क्रिकेट रंगशालामा हुने खेलमा ५ सयदेखि १५ सय रुपैयाँसम्म टिकट मूल्य तोकिएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार मंसिर १ को उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोखार्ज भिड्नेछन्।
खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो ४ बजे सुरु हुनेछ। प्रतियोगितामा पहिलो संस्करणकै आठ टोलीको सहभागिता छ भने आगामी मंसिर २७ सम्म चल्नेछ।