काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालको व्यापार गतिविधिमा उल्लेखनीय परिवर्तन देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो। गन्तव्य मुलुकको आधारमा भारततर्फ निर्यात १३७.९ प्रतिशतले वृद्धि भएको छ, अन्य मुलुकतर्फ ३.८ प्रतिशतले वृद्धि भएको छ। तर, चीनतर्फ निर्यात ६६.१ प्रतिशतले घटेको छ। भटमासको तेल, पाम तेल, जुटका सामान, अलैंची, पोलिष्टर धागो जस्ता वस्तुको निर्यात बढेको छ। निर्यात घटेका वस्तुमा चिया, ऊनी गलैंचा, पिनाल, जिंग सिट र पार्टिकल बोर्ड पर्दछन्।
कुल वस्तु आयात १९.८ प्रतिशतले वृद्धि भई ४ खर्ब ६८ अर्ब ८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयातमा ४.२ प्रतिशतले कमी आएको थियो। मुलुकअनुसार भारत, चीन र अन्य मुलुकबाट क्रमशः ७.५ प्रतिशत, ३३.४ प्रतिशत र ४६.५ प्रतिशतले आयात बढेको छ। भटमासको कच्चा तेल, रासायनिक मल, सुन, सवारी साधन तथा स्पेयर पाट्र्स, दूरसञ्चार उपकरण जस्ता वस्तु आयात बढेका छन् भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, तेलहन र पेट्रोलियम पदार्थको आयात घटेको छ।
तीन महिनामा कुल व्यापार घाटा १२.२ प्रतिशतले बढेर ३ खर्ब ९५ अर्ब ३० करोड पुगेको छ। निर्यातरआयात अनुपात १५.५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो अनुपात ९.८ प्रतिशत थियो। भारतबाट भुक्तानी गरेर गरिएको आयात ४० अर्ब ७९ करोड बराबरको रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा ४४ अर्ब १३ करोड थियो।
कुल निर्यातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा ६९.० प्रतिशत, मध्यवर्ती वस्तु ३०.४ प्रतिशत र पुँजीगत वस्तु ०.६ प्रतिशत रहेको छ। कुल आयातमा अन्तिम उपभोग्य वस्तु ३८.० प्रतिशत, मध्यवर्ती वस्तु ५३.३ प्रतिशत र पुँजीगत वस्तु ८.७ प्रतिशत रहेको छ। २०८२ असोजमा निर्यातको एकाइ मूल्य सूचकांक २.२ प्रतिशतले घटेको छ भने आयात मूल्य सूचकांक २.३ प्रतिशतले वृद्धि भएको छ। सोही अवधिमा व्यापार सर्त ४.४ प्रतिशतले घटेको छ।