काठमाडौं। नेपालको निर्जीवन बिमा क्षेत्रले हाल यसअघि कहिले नभोगेको अभूतपूर्व संकटको सामना गरिरहेको छ। गत भदौको जेनजी प्रदर्शन र त्यसपछिको असोज १८ गतेदेखि परेको अविरल वर्षा तथा बाढी पहिरोको क्षतिका कारण कम्पनीमाथि अर्बौं रुपैयाँको दाबी दायित्व थपिएपछि उनीहरूको वित्तीय स्वास्थ्य बिग्रिएको हो।
जेनजी प्रदर्शनबाट भएको क्षतिको कुल दाबी साढे २३ अर्ब रुपैयाँ परेको छ। यसमध्ये कम्पनीहरूले द्रुत गतिमा तीन अर्ब ६८ करोड ४१ लाख रुपैयाँ दाबी भुक्तानी गरिसकेका छन्। यस्तै, असोज १८ गतेदेखि परेको वर्षा तथा बाढी पहिरोका कारणले गर्दा तीन अर्ब ७८ करोड ४० लाख रुपैयाँभन्दा बढीको थप दाबी परेको छ।
सरकार र नियामक नेपाल बिमा प्राधिकरण तथा स्वयं बिमा कम्पनीहरुले अग्रीम दाबी भुक्तानी गर्ने निर्णय गरेर करिब पौने ४ अर्ब रुपैयाँ बिमितहरुलाई भुक्तानी गरिसकेका छन्। तर, बिमकहरुले गरेको पुर्नबिमा वापतको रकम भने एक रुपैयाँ पनि प्राप्त नभएको नेको इन्स्योरेन्सका कार्यकारी अधिकृत (सीईओ)समेत रहेको नेपाल बिमक संघका उपाध्यक्ष अशोक खड्का बताउँछन्।
‘सामान्य हिसाबले पनि पुनर्बिमा कम्पनीहरूले कुल दाबीको कम्तीमा ६५ प्रतिशत अर्थात् करिब १५ अर्ब २५ करोड रुपैयाँभन्दा माथि (र नेगोसिएसनका आधारमा २० अर्ब रुपैयाँसम्म) भुक्तानी गर्नुपर्ने दायित्व थियो,’ संघका उपाध्यक्ष खड्काले क्यापिटल नेपालसँग भने, ‘तर, यसको सट्टामा पुनर्बिमा कम्पनीहरूले १० अर्ब रुपैयाँ पनि फ्लो गरेनन्। आजसम्म आन्दोलनको क्षतिको जति दाबी भएको छ कम्पनीहरु आफैले म्यानेज गरेर दिएका हुन्। केही कम्पनीलाई थोरै (५० करोडदेखि १ अर्बसम्म) मात्र दिएको तथा कतिपय कम्पनी हामी जस्ता (नेको)लाई एक रुपैयाँ पनि नदिएको अवस्था छ।’
चालू आर्थिक वर्षमा निर्जीवन बिमा कम्पनीहरुको खुद नाफा करिब दुई अर्ब रुपैयाँले नकारात्मक छ।
उनका अनुसार ठूलो रकम बाहिरिएपछि अब कम्पनीहरूसँग थप दाबी भुक्तानीका लागि फण्ड म्यानेजमेन्टको समस्या देखिएको छ। ‘पहिला तिरौँ त’ भन्ने अवस्थामा कम्पनीहरू पुगेका छन् र पैसा नभएकाले आगामी दिनमा दाबी भुक्तानी लिङ्गरिङ (अड्किने) हुने जोखिम बढेको छ।
यसको सीधा असर चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणमा परेको उनले बताए। चालू आर्थिक वर्षमा निर्जीवन बिमा कम्पनीहरुको खुद नाफा करिब दुई अर्ब रुपैयाँले नकारात्मक छ। सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनीमध्ये प्रभु इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सबाहेकका १२ कम्पनीको खुद नाफा ८ करोड रुपैयाँमाथि २९ करोड ८५ लाख रुपैयाँसम्मले नकारात्मक छ।
यसको प्रमुख कारण हालसम्मकै ठूलो संकटमा पुर्नबिमाले साथ नदिँदा भएको संघ उपाध्यक्ष खड्का बताउँछन्। ‘पहिलो त्रैमासमा कम्पनीहरुको वित्तीय स्वास्थ्य बिग्रिनुमा ठूलो दाबी भुक्तानी र पुनर्बिमाको कमजोरीले गर्दा हो, अहिलेको पैसा माग गर्दा पुर्नबिमाले पहिलेको हिसाब क्लियर गर्नु छ भन्छ,’ उनले भने, ‘पुनर्बिमा कम्पनीसँग हरेक कम्पनीको ५÷७ करोडको लेनदेन बाँकी हुन्छ। तर, यही बहाना बनाएर ९५ करोड रुपैयाँसम्मको ठूलो भुक्तानी रोकेर राखेका छन्। हामीसँग भएको कोषबाट अहिले तिरिरहेका छौँ। तर, त्यसबाट कहिलेसम्म तिर्न सक्छौं भन्ने अवस्था छैन।’
पुनर्बिमा कम्पनीले करिब २० अर्ब रुपैयाँ भुक्तानी रोक्दा जिर्नीवन बिमा कम्पनीहरुले भोलिको दिनमा जेनजी आन्दोलनको क्षतिवापदको दायित्व नै भुक्तानी गर्न नसक्ने आवस्था आउने उनको भनाइ हो।
जेनजी प्रर्दशनको क्षतिवापत परेको बिमा दाबीहरूको ठूलो दायित्व कम्पनीहरूले आफ्नो वित्तीय विवरणमा देखाउनु पर्दा नाफा ह्वात्तै घटेको र अधिकांश घाटामा गएको उनको तर्क छ।
‘साता वा १५ दिन पछिदेखि अहिले भइरहेको दाबी भुक्तानी पनि रोकिने आवस्था आउँछ, पुनर्बिमाले दायित्वको पैसा दिन अनावश्यक तर्कअघि सार्दा कम्पनीहरूको नगद प्रवाहलाई प्रत्यक्ष असर पारेको छ। यसबारे हामी चाँडै अर्थ मन्त्रालयमा कुरा राख्छौँ,’ उनले भने।
जेनजी प्रर्दशनको क्षतिवापत परेको बिमा दाबीहरूको ठूलो दायित्व कम्पनीहरूले आफ्नो वित्तीय विवरणमा देखाउनु पर्दा नाफा ह्वात्तै घटेको र अधिकांश घाटामा गएको उनको तर्क छ। विशेष गरी, पुनर्बिमा व्यवस्थापनमा भएको कमजोरीका कारण कम्पनीहरूले जोखिमको ठूलो हिस्सा आफैले बहन गर्नु परेको छ। जसले वित्तीय दबाबलाई झनै बढाएको छ। अघिल्लो वर्ष २०८१ असोज मसान्तसम्ममा निर्जीवन बिमा कम्पनीहरूले कुल १६ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।
