काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको एनसेल फाउन्डेसनले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलमा हानिने प्रत्येक चौकाबापत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ४ वटा शैक्षिक सामग्री उपलब्ध गराइने घोषणा गरेको छ।
गत वर्ष एनपीएलसँगको साझेदारीअन्तर्गत २,६१२ विद्यार्थी लाभान्वित भएकाले यस वर्ष पनि एनसेल फाउन्डेसनले यो साझेदारीलाई निरन्तरता दिएको हो।
गत वर्ष एनपीएलका खेलमा कुल ६५३ चौका हानिएका थिए। क्रिकेटको रोमाञ्चकता शिक्षासँग जोडिएको यो कार्यक्रमका २,६१२ सहित एनसेलले देशभरका ९,००० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिसकेको छ।
क्रिकेटदेखि कक्षाकोठासम्मको नवीन पहलले विद्यार्थीको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरको ढोका खोल्न मद्दत पुर्याउने एनसेल फाउन्डेसनको विश्वास छ।
विद्यार्थीले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुन्छन्। यसले स्रोत अभाव घटाउन सहयोग गर्ने र विद्यार्थीको पठनपाठनमा योगदान गर्ने एनसेलले बताएको छ।
‘क्रिकेटले हामी सबैलाई जोडेको छ। एनपीएलसँगको यस सहकार्यमार्फत सामुदायिक विद्यालयका विद्यार्थीको उज्यालो भविष्यका लागि यो पहललाई अझै अगाडि बढाउन पाएकामा धेरै खुसी छौं’, एनसेल कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्। खेलमा प्रहार हुने प्रत्येक चौका विद्यार्थीले भविष्यमा प्राप्त गर्ने अवसर, सिकाइ र हुर्काइसँग जोडिने उनले बताइन्।
एनसेलका अनुसार फाउन्डेसनले प्रदान गर्ने शैक्षिक सामग्री नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय र कार्यन्वयन साझेदारलगायतको सहकार्यमा वितरण गरिनेछ।