काठमाडौं। पछिल्लो समय लोकप्रिय बनिरहेको राइड सेयरिङ कम्पनीहरु पठाओ, इनड्राइभ र याङ्गोलगायतका सेवा प्रदायक कम्पनीले मूल्य बढाउने तयारी गरेको छ। मध्यपूर्वमा जारी तनावका कारण इन्धनको मूल्य बढेसँगै राइड सेयरिङ सेवा दिँदै आएका कम्पनीहरुले भाडा बढाउने तयारी थालेको हो।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको कारण देखाउँदै पेट्रोल र डिजेलको मूल्य बढाएको थियो। इन्धनको लागत बढेपछि राइड सेयरिङ एप प्रयोगकर्ताले अब यात्राका लागि विगतको तुलनामा बढी शुल्क तिर्नुपर्ने निश्चित भएको छ। यद्यपि, हालसम्म मूल्य बढेको सूचना जारी भएको छैन। अहिले इन्धनको मूल्य बढेकाले याङ्गो तथा ट्याक्सीमाण्डुको फेयर पनि बढ्न सक्ने याङ्गो तथा ट्याक्सिमाण्डुका प्रबन्ध निर्देशक अर्जुन केसी बताउँछन्।
‘हाम्रो डाइनामिक फेयर सिस्टम त पहिले नै छ। अवस्थाअनुसार जब माग बढ्छ, फेयर पनि बढ्न सक्छ,’ उनले भने, ‘अहिले पेट्रोलियम पदार्थको मूल्य बढेकाले हामीले विश्लेषण गर्दै छौँ। इन्धनको मूल्य बढ्दा फेयर पनि बढ्न सक्छ।’ अहिले फेयर बढाएको छैन। तर, बढ्ने सम्भावना भएको उनको भनाइ छ।
उनका अनुसार अहिलेको इन्धनको मूल्यअनुसार फेयर नबढाई काम गर्न सकिने अवस्था छैन। इन्धनको मूल्य योभन्दा अझै धेरै बढ्ने सम्भावना देखिन्छ। अहिले सार्वजनिक यातायात व्यवसायीहरूले पनि भाडा समायोजन गर्न माग गरिरहेका छन्। राइड सेयरिङ कम्पनीहरुले पनि अवस्था हेरेर आफ्नो फेयर बढाउने सम्भावना रहेको छ।
‘हालको पेट्रोल मूल्यमा प्रतिलिटर १७२ रूपैयाँको भाडाले सञ्चालन सम्भव छैन। त्यसकारण फेयर बढ्छ,’ प्रबन्ध निर्देशक केसीले भने। हाल राइड सेयरिङ एपहरू बढ्दै जाँदा यसको प्रयोगकर्ता तथा राइडर पनि दिन प्रतिदिन बढ्दै गइरहेका छन्। अहिले नेपालमा दर्जन बढी राइड सेयरिङ कम्पनीले आफ्नो सेवा संचालन गरिरहेका छन् भने लाखौँ मानिसहरुले यसमा रोजगारी पनि पाइरहेका छन्।
विश्वव्यापी रुपमा बढ्दो इन्धनको मूल्य र आर्थिक उतार चढावका कारण यातायात क्षेत्र प्रभावित भइरहेकाले यो पहलले चालकलाई सहयोग गर्ने उनको भनाइ छ।
इन्धनको मूल्य बढेकाले तत्कालै पठाओको फेयर बढाउने वा नबढाउने भन्ने कुरा टिमले छलफल गरेर तय गर्ने राइड सेयरिङ एप पठाओका संचालक असिममानसिंह बस्न्यात बताउँछन्। ‘पठाओको फेयर बढ्ने नबढ्ने पूरै टिम मिलेर छलफल गरेर मात्र निर्णय हुन्छ। अहिले नै बढ्छ बढ्दैन भन्न सकिन्न।’
इन्धनको मूल्य बढ्दा सामान्यतया यातायात क्षेत्रको सञ्चालन लागत बढ्ने भएकाले राइड सेयरिङ सेवामा पनि त्यसको असर पर्ने सम्भावना रहन्छ। राइड सेयरिङ एप जस्तै पठाओ, इनड्राइभ यांगोका अधिकांश चालकले पेट्रोल प्रयोग हुने मोटरसाइकल चलाउने भएकाले इन्धन मूल्य वृद्धिले उनीहरूको खर्च बढ्ने छ। जसका कारण मूल्य पनि बढ्ने सम्भावना देखिन्छ।
इन्धन मूल्य वृद्धिले यातायात क्षेत्रमा प्रभाव परेकाले हालको बजार अवस्थालाई मध्यनजर गर्दै इनड्राइभले चालकलाई सहयोग पुर्याउने उद्देश्यले हाल ०.०१ प्रतिशत सेवा शुल्कको नीति लागू गरेको इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रिता पोखरेल बताउँछिन्।
‘हालको चुनौतीपूर्ण आर्थिक अवस्थालाई मध्यनजर गर्दै कम्पनीले चालकहरूको आम्दानी सुरक्षित गर्न र उनीहरूलाई आर्थिक भारबाट जोगाउन ०.०१ प्रतिशत सेवा शुल्कको पहल सुरु गरेको छ,’ उनी भन्छिन्, ‘यस व्यवस्थापछि इनड्राइभका चालकहरूले प्रत्येक सवारीबाट हुने आम्दानीको लगभग शतप्रतिशत हिस्सा आफैँसँग राख्न पाउने छन्।’
विश्वव्यापी रुपमा बढ्दो इन्धनको मूल्य र आर्थिक उतार चढावका कारण यातायात क्षेत्र प्रभावित भइरहेकाले यो पहलले चालकलाई सहयोग गर्ने उनको भनाइ छ।
चालकको गुनासो
अहिले इन्धनको मूल्य बढेकाले यही फेयरमा संचालन गर्न कठिन भएको गुनासो चालकबाट आइरहेको प्रबन्ध निर्देशक केसी बताउँछन्। ‘यही फेयरमा राइड सेयरिङ सेवा दिन कठिन भएको गुनासो चालहरुबाट हामीलाई आइरहेको छ,’ उनले भने, ‘धेरै चालकहरुबाट गुनासो आएकाले फेयर बढाउनुपर्ने देखिन्छ। अहिले फेयर बढाएको छैन। तर, बढ्ने सम्भावना छ।’ यो विषयमा टिमसँग छलफल भइरहेको उनको भनाइ छ।
चालकका अनुसार पहिले ५०० रुपैयाँको पेट्रोलले जति टिप गरिन्थ्यो।
हालसम्म राइड सेयरिङ कम्पनीहरूले आधिकारिक रुपमा भाडा बढाउने घोषणा गरिसकेका छैनन्। इन्धनको भाडा बढे पनि राइड सेयरिङ एपहरूले फेयर नबढाएकाले यसले चालकहरूको आम्दानीमा प्रत्यक्ष असर परेको राइड सेयरिङ सेवा प्रयोग गर्ने चालकहरुले बताएका छन्।
चालकका अनुसार पहिले ५०० रुपैयाँको पेट्रोलले जति टिप गरिन्थ्यो। अहिले त्यति गर्न कठिन भएको छ। कम्पनीको कमिसन र मर्मत खर्च कटाउँदा हातमा नाफा नरहने गुनासो चालकहरुले गर्दै आएका छन्। अहिले धेरैजसो राइडरहरूले सामाजिक सञ्जालमार्फत कम्पनीहरूलाई भाडा बढाउन वा आफ्नो कमिसन घटाउन दबाब दिइरहेका छन्।