काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ पदाधिकारीले नेपाल प्रहरीका नवनियुक्त महानिरीषक दानबहादुर कार्कीलाई भेटेर शान्ति–सुरक्षाबारे जानकारी गराएका छन्।
महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला उच्छृंखल समूहबाट उद्योग, प्रतिष्ठान, व्यवसायमाथि गरिएको तोडफोड, लुटपाट र आगजनीका घटनामा संलग्न कारबाही गर्न माग गरेको हो।
घटनामा संलग्नलाई कारबाही नगर्दा समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुने उल्लेख गर्दै आईजीपीको ध्यानाकर्षण गराइएको महासंघले जनाएको छ।
जेनजी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीमा संलग्नमाथि कारबाही गर्न र घटनामा जाहेरी लिन महासंघले प्रहरीसँग आग्रह गरेको छ। महासंघका अध्यक्ष ढकालले आन्दोलनपछि निजी क्षेत्रको मनोबल कमजोर मात्र नभई आर्थिक क्रियाकलाप मै नकारात्मक असर पुर्याएको बताए।
‘जेनजी आन्दोलनमा उठेका सुशासन, पारदर्शिताका एजेन्डा महासंघले पनि उठाउँदै आएको हो। यद्यपि पछिल्लो जेनजी आन्दोलन र त्यसक्रममा भएका घुसपैठले निजी उद्योग प्रतिष्ठानमा ठूलो क्षति भएको छ। उद्योगी व्यवसायीको मनोबल कमजोर भएको अवस्था छ। यो अवस्थामा औद्योगिक सुरक्षा र स्थायित्वका लागि कानुनी राज्यको प्रत्याभूति दिलाउनु आवश्यक छ,’ उनले भने।
महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले लगानीका लागि पहिलो सर्त सुरक्षा भएको उल्लेख गर्दै शान्ति–सुरक्षा प्रत्याभूति नहुने हो भने आर्थिक गतिविधि र लगानी निरुत्साहित हुने बताए।
‘आन्दोलनपछि व्यवसायीले प्रमाणसहित जाहेरी दिए पनि नलिएको अवस्था छ। काठमाडौं बाहिरका जिल्लाबाट पनि जाहेरी नलिएको गुनासो व्यवसायीबाट आइरहेको छ। यसले व्यवसायीमा एक प्रकारको निराशा छाएको छ। तसर्थ यसलाई गम्भीर रुपमा लिन आग्रह गर्दछु,’ उनले भने।
महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले हरेक आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण हुने गरे पनि यसपटक निजी क्षेत्रमाथि योजनाबद्ध रुपमा आक्रमण गरिएको बताए। उनले स्थायित्वबिना आर्थिक गतिविधि चलायमान नहुने हुँदा शान्ति–सुरक्षा प्रत्याभूति आवश्यक रहेकामा जोड दिए।
भेटमा महानिरीक्षक कार्कीले शान्ति–सुरक्षा कायम गर्नु प्रहरीको पहिलो दायित्व भएको उल्लेख गर्दै आन्दोलनका क्रममा घुसपैठ गरी हिंसा, तोडफोड र अराजक कार्यमा संलग्न जो–कसैलाई पनि प्रमाणका आधारमा कानुनी कारबाही दायरामा ल्याइने प्रतिबद्धता जनाए।
‘निजी क्षेत्र अर्थतन्त्रको प्रमुख आधार हो। यो क्षेत्रको संरक्षण बिना अर्थतन्त्र चलायमान हुन सक्दैन। नेपाल प्रहरी निजी क्षेत्र, आमनागरिक सुरक्षाका लागि सधैं संवेदनशील छ। यसमा सबैको सहयोग अपरिहार्य छ,’ उनले भने।
प्रहरी महानिरीक्षक कार्कीले आन्दोलनका क्रममा भएका सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको आक्रमण र तोडफोडमा संलग्न दोषीलाई कानुनी कारबाही दायरामा ल्याइने र यसका लागि सबै जिल्लास्थित प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताए।