काठमाडौं। तेस्रो इम्प्याक्ट क्याफे (आइक्याफे) टेकस्पायर कलेज बानेश्वरमा उद्घाटन गरिएको छ। स्टुडियो नेपालले सञ्चालन गरेकाे उक्त क्याफेमा विद्यार्थीहरूलाई क्याम्पसमै नयाँ/नयाँ आइडिया विकास गर्ने, मेन्टरहरूसँग भेटघाट र मिटिङ गर्ने तथा गुणस्तरीय कफी अत्यन्त किफायती मूल्यमा पाउने सुविधा प्रदान गरेकाे छ।
१ वर्षअघि अनामनगरस्थित आइडिया स्टुडियो नेपालको कार्यालयबाट पहिलो इम्प्याक्ट क्याफे सञ्चालनमा ल्याइएको थियो। यस वर्ष असारमा कुपण्डोलको पीसीपीएस कलेजमा दोस्रो शाखा सञ्चालनमा आएपछि संस्था अब थप कलेजहरूमा विस्तार गर्ने योजनासहित अघि बढिरहेको आइडिया स्टुडियो नेपालका निर्देशक अनिल बस्नेतले जानकारी दिए। उनका अनुसार, ‘आएको महिनामा लगनखेलको नेसफिल्ड कलेजमा चौथो इम्प्याक्ट क्याफेसुरु हुँदैछ।’
उद्घाटन समारोहमा आइडिया स्टुडियो नेपालका अध्यक्ष डा.छेरिङ लामाले इम्प्याक्ट क्याफे केवल कफी पसल मात्र नभई विद्यार्थीहरूको ‘उत्सव स्थल’ भएको उल्लेख गरे। ‘विद्यार्थीहरूले यहाँ बसेर आफ्ना प्रोजेक्ट, समूहगत अध्ययन, बैठक र छलफल गर्न सक्छन्। यो उनीहरूको सिर्जनशीलता र सिकाइलाई सुदृढ बनाउने स्थान हो,’ उनले भने।
त्यसैगरी, टेकस्पायर कलेजका सीईओ तथा प्रिन्सिपल लक्ष्मण पोखरेलले कलेजभित्र यस्ता सुविधाको विकासले विद्यार्थीहरुको सिकाइ वातावरण अझ समृद्ध भएको बताए। ‘यसले विद्यार्थीलाई कक्षा सकेपछि पनि कलेजमै समय बिताउन, फ्याकल्टीसँग संवाद बढाउन तथा उद्यमशीलतामा संलग्न हुन सहयोग पुऱ्याउँछ,’ उनले आभार व्यक्त गर्दै भने।
इम्प्याक्ट क्याफे सञ्चालनसँगै सोही कलेजका विद्यार्थीहरूले पार्ट-टाइम रोजगारी पनि सुरु गरिसकेका छन्। दुर्गा बर्तौला, बीबीए तेस्रो सेमेस्टरकी विद्यार्थीले कलेजपछि पार्ट-टाइम काम गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताइन्। ‘इम्प्याक्ट क्याफेले अध्ययनसँगै वास्तविक कार्य अनुभव हासिल गर्ने अवसर दिएको छ,’ उनले भनिन्।
आइडिया स्टुडियो नेपालले २०० स्टार्टअप, ५० कॉर्पोरेट र बैंकिङ संस्थाहरूको साझेदारीमा उक्त क्याफे सञ्चालनमा आएको हो। क्याफेले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म बिन्स कफी, फ्रुट जुस, बेकरी, पेस्ट्री, स्न्याक्स आदि किफायती मूल्यमा उपलब्ध गराइरहेको छ। ‘हामीले अमेरिकानो रु ८०र क्यापुचिनो रु ९५ मा प्रदान गर्दै आएका छौं, जुन अन्य कफी शपहरूभन्दा करिब ५०% सस्तो छ,’ निर्देशक बस्नेतले बताए।