काठमाडौं। जब आगोले भाटभटेनीका १२ वटा स्टोरलाई खरानी बनायो, तोडफोड र लुटपाटले थप ९ वटा स्टोर विध्वंस भयाे, त्यतिखेर धेरैले सोचे होलान्— अब मीनबहादुर गुरुङ थाकिहाल्लान्। तर यो मानिस कहिल्यै भत्किएन। आरोप, आगलागी, आर्थिक क्षति र अनवरत आलोचनाको बाटो छिचोल्दै पनि उनी अगाडि नै बढे। कहिले कीर्ते, कहिले जेल, कहिले आगो—जहाँबाट प्रहार भए पनि उनले त्यसलाई पीडा होइन, 'स्वीट पेन' भनेर स्वीकारे। जीवनभरीका चोटहरूलाई ऊर्जामा परिणत गर्ने उनको जिद्धीले भाटभटेनीसँगै आफ्नो व्यापार र परोपकारलाई निरन्तर अगाडि बढाइरहेका छन्।
२०८१ चैत १५ गते भएको राजावादीको आन्दोलनका क्रममा भएको तोडफोड र लुटपाट होस् या भदौं २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगलागी, उनले सबै घटनालाई ऊर्जाको रूपमा लिँदै आफ्नो अनवरत यात्रालाई अगाडि बढाइरहेका छन्। हजारौं श्रमिकलाई रोजगारी दिँदै, अर्बौं रुपैयाँ परोपकारमा खर्चिँदै आएको मीनबहादुरलाई विगतका घटनाभन्दा यो पटकको घटनाले अलि बढी चोट पुर्याएको छ। सोमबार उत्कृष्ट करदाताको रूपमा सम्मान लिँदै मीनबहादुरले आफ्नो दुखेसो पोख्दै भने— 'भाटभटेनी जलेपछि मलाई "स्वीट पेन" भएको छ।'
'भाटभटेनीमा म र मेरो परिवार मात्र छैन'
आफू डुबे बैंक डुब्ने र हजारौंको रोजगारी गुम्ने बताउँदै, आफ्नो लागिभन्दा मुलुकको हित सम्झेर अझै अगाडि बढ्न खोजिरहेको उनले बताए। 'भाटभटेनीमा म र मेरो परिवार मात्र छैन,' अध्यक्ष गुरुङले भने, 'हजारौं श्रमिकहरूको आश्रयस्थल बनेको छ, राज्यले अर्बौं रुपैयाँ राजस्व पाइरहेको छ। त्यसैले म थाक्न मिल्दैन, थाक्दिन पनि।'
सञ्चालक गुरुङले आफूमाथि लागेका अनेक आरोप, नियन्त्रणका प्रयास र क्षतिलाई स्वीकार गर्दै आफू निरन्तर अघि बढेको बताए। कर तिरेर बचेको नाफा समाजसेवामा खर्च गर्ने आफ्नो चाहनाबारे बोल्दै उनले भगवान कोइराला राष्ट्रिय हृदय केन्द्र, टिचिङ अस्पतालजस्ता संस्थामा गरेको सहयोग उल्लेख गरे। मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुँदा सबैभन्दा खुसी भएको स्मरण गर्दै उनले पछि अरूको गल्तीमा सजाय पाउनुपरेको तितो अनुभव सुनाए। त्यतिबेलाको आम्दानीले हर्जाना तिर्न नसक्ने अवस्थाबाट झनै मेहनत गर्ने प्रेरणा मिलेको र २ अर्बको कारोबारबाट आज ३३ अर्बसम्म विस्तार हुन सकेको बताए।
गत भदौको आगलागीले ठूलो क्षति पुर्याए पनि 'म डुब्दा बैंक डुब्छ, रोजगारी जान्छ' भन्ने सोचले आफू फेरि उठ्न सकेको उनले सुनाए। अहिले उनले ध्वस्त भएका १२ वटा सुपरमार्केट पुनर्निर्माण तयारी गरिसकेका छन्, यस्तै तोडफोड भएका स्टोरहरू बनाएर सञ्चालन गरिसकेका छन्।
सानो ग्रोसरीदेखि नेपालको गर्व
सन् १९८४ मा सानो ग्रोसरी स्टोरबाट कर्म सुरु गरेका गुरुङ आज नेपालको सबैभन्दा ठूलो र प्रभावशाली खुद्रा व्यापारिक सञ्जाल भाटभटेनी सुपरमार्केटका संस्थापक तथा नेतृत्वकर्ता मात्र होइनन्। उनको नेतृत्व र दूरदर्शिताले भाटभटेनीलाई नेपाली खुद्रा बजारको अग्रणी ब्रान्डमा रूपान्तरण गरेको छ। तर गुरुङको लगानी केवल खुद्रा व्यापारमा मात्रै सीमित छैन। पछिल्लो समय होटल, फलाम उद्योग, बैंक, इन्स्योरेन्स, केबलकार, जलविद्युत्, नवीकरणीय ऊर्जा, कन्स्ट्रक्सन, तयारी पोशाक, स्वास्थ्य सेवा, कोल्डस्टोरदेखि विविध क्षेत्रमा प्रवेश गरेका छन्।
पछिल्लो समय गुरुङले आफ्नो मन मिल्ने केही व्यवसायीलाई विज्ञताका आधारमा साझेदार बनाउँदै लगानी विस्तारलाई तीव्रता दिइरहेका छन्। विशेष गरी उद्योगी एवं व्यवसायी उमेश श्रेष्ठसँग सहकार्यमा काठमाडौंमा पाँचतारे होटल अन्नपूर्ण स्क्वायर, चितवनमा कोल्डस्टोर र भैरहवामा गार्मेन्ट उद्योगमा लगानी विस्तार गरेका छन्।
दरबारमार्गमा निर्माणाधीन होटल अन्नपूर्ण स्क्वायरमा अन्नपूर्णको ४२ रोपनी जग्गामा १९ तले २ वटा भवन बनाइरहेको छ। उक्त होटलमा उनको ५० प्रतिशत सेयर लगानी रहेको छ र जग्गाको २९ प्रतिशत हिस्सा उनको रहेको छ। निर्माणाधीन मलमा कुल ८ अर्ब रुपैयाँ लगानी हुनेछ। यस्तै श्रेष्ठसँगको सहकार्यमा गुरुङले १ अर्ब ५० करोड रुपैयाँको लागतमा चितवनमा अत्याधुनिक कोल्डस्टोर निर्माण सुरु गरिरहेका छन्।
रोजगारी र हरित ऊर्जा अभियान
भैरहवास्थित विशेष आर्थिक क्षेत्रमा तयारी पोशाक उद्योगको काम अगाडि बढाएका गुरुङले डेढ अर्ब रुपैयाँ लगानीमा निर्माण सुरु भएको उद्योगमा प्रारम्भिक चरणमा १ हजार २ सय नेपालीलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य राखेका छन्। अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने यस उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्ध गरिनेछ। विशेष कुरा के छ भने यहाँ एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली एवं ब्याट्री ब्याकअपसहितको सौर्य ऊर्जा भण्डारण रहने गरी निर्माण र प्रयोग गरिनेछ।
हरित ऊर्जामाथिको जोड बढाउँदै मीनबहादुरको भाटभटेनी र उमेश श्रेष्ठको रिन्यू होल्डिङ्स प्रालिबीच भाटभटेनीका विभिन्न स्थानमा रहेका सुपरमार्केटका छत तथा खाली स्थानलाई उपयोग गरेर १२.७५० मेगावाट बराबरको सौर्य ऊर्जा उत्पादन तथा सहकार्य गर्ने गरी काम अगाडि बढाइएको छ। यो नेपालमा हरित ऊर्जा प्रवर्द्धनको उत्कृष्ट उदाहरण हो।
स्वास्थ्य, होटल र आवास क्षेत्रमा विस्तार
लगानी विस्तार गर्ने क्रममा गुरुङले काठमाडौंको तीनकुनेमा निर्माणाधीन काठमाडौं इन्टरनेसनल हस्पिटलको साढे ४५ प्रतिशत सेयर खरिद गरेका छन्। स्वास्थ्य सेवामा गुणस्तरीय योगदान दिने यो उनको अर्को महत्वाकांक्षी लगानी हो। यस्तै लगानीलाई बृहत् बनाउने उद्देश्यले रोडसो रियल इस्टेटका अध्यक्ष कालु गुरुङसँगको सहकार्यमा अपार्टमेन्ट निर्माणमा समेत भाटभटेनी प्रवेश गरेको छ।
गुरुङले विराटनगरमा निर्माणाधीन पाँचतारे होटल सेञ्चुरियन पनि खरिद गरेका छन्। उद्योगी एवं पूर्वउद्योगराज्यमन्त्री मोतीलाल दुगडले निर्माण गरेको होटल सञ्चालनमा समस्या भएपछि गुरुङले १ अर्ब ५० करोड रुपैयाँ लागतमा खरिद गरेका हुन्। वित्तीय संस्थातर्फ ग्लोबल आइएमई, कुमारी, सिद्धार्थ र ज्योति विकास बैंक, जलविद्युत् क्षेत्रतर्फ माउन्टेन इनर्जी, उद्योगतर्फ काठमाडौं स्टील र चन्द्रागिरि हिल्समा लगानी छ।
नेपाललाई माया गर्ने सच्चा नायक
गुरुङ नेपाललाई माया गर्ने उद्यमी पर्छन्। पछिल्लो समयदेखि उनी र उनको सम्पत्तिमाथि निरन्तर हमला भइरहँदा पनि मुलुकको विकासमा उनको समर्पणमा कुनै कमी आएको छैन। उनी वास्तवमै सच्चा र असल उद्यमी हुन्। उनी कर तिर्ने सूचीको अग्रस्थानमा छन्, र यो मात्र होइन—उनी नेपालको आर्थिक विकास र रोजगारी सृजनाको एउटा जीवन्त स्तम्भ हुन्।
आगोमा तापेर फलाम बन्छ भन्छन्। मीनबहादुर गुरुङ त्यही फलाम हुन्— जति चोट खान्छन्, त्यति नै बलिया बन्दै जान्छन्। उनको यात्रा नेपालका लागि प्रेरणा हो, उनको संघर्ष राष्ट्रनिर्माणको उदाहरण हो। यो केवल एक व्यवसायीको कथा होइन, यो नेपाली उद्यमशीलताको जीवन्त प्रमाण हो, यो लडाइँ, लगन र लगनशीलताको गाथा हो। मीनबहादुर गुरुङ जति पल्टिए, त्यति पल्टै फर्किए। उनी भन्छन्— 'थाक्दिन, थाकिँदै पनि उठ्छु!' र यही नै उनको जीवन दर्शन हो।