काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले गत आर्थिक वर्षमा साढे २ लाख रुपैयाँ तलब बुझेका छन्। २०८२ जेठ ६ मा नियुक्त भएका गभर्नर पौडेलले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म २ लाख ५० हजार ६५ रुपैयाँ तलब, १ लाख १७ हजार रुपैयाँ सञ्चालक समितिको बैठक भत्ता र २ लाख १६ हजार ५ सय ३८ रुपैयाँ अन्य भत्ता गरी २ महिनामा कुल ५ लाख ६६ हजार ६ सय ३ रुपैयाँ बुझेका हुन्।
केन्द्रीय बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार २०८१ चैत २२ सम्म जागिर गरेका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले गत आर्थिक वर्षमा ८ महिना २२ दिनको तलब वापत ११ लाख ८८ हजार ९ सय ३ रुपैयाँ, सञ्चालक समिति बैठक भत्ता वापत २ लाख ८८ हजार रुपैयाँ र अन्य भत्ता ४१ लाख १० हजार ४ सय ३ रुपैयाँ गरी कुल ५५ लाख ८७ हजार ३ सय ६ रुपैयाँ बुझेका थिए।
पौडेल र अधिकारीलाई गत वर्ष राष्ट्र बैंकले गभर्नरको तलब भत्तामा नै ६१ लाख ५३ हजार ९ सय ९ रुपैयाँ खर्च गरेको छ। जसमा तलबमा १४ लाख ३८ हजार ९ सय ६८ रुपैयाँ, बैठक भत्तामा ४ लाख ५ हजार रुपैयाँ र अन्य भत्तामा ४४ लाख २६ हजार ९ सय ४१ रुपैयाँ खर्च भएको हो। अघिल्लो वर्ष महाप्रसाद अधिकारीलाई तलब वापत १६ लाख ३२ हजार, बैठक भत्ता ३ लाख ३३ हजार र अन्य भत्ता ४४ लाख ९७ हजार ७१ रुपैयाँ गरी कुल ६४ लाख ६२ हजार रुपैयाँ खर्च गरिएको थियो।
ढिलाइले ढुंगानालाई फाइदा
सरकारले १८औं गभर्नर नियुक्तिमा करिब २ महिना ढिलाइ गर्दा त्यसको फाइदा वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगानालाई भएको छ। उनले अर्का डेपुटी गभर्नर धर्म बहादुर मिश्रभन्दा कुल ५ लाख २९ हजार ९४ रुपैयाँ बढी भत्ता बुझेकी छिन्।
गत वर्ष डेपुटी गभर्नरद्वयलाई नै राष्ट्र बैंकले तलबमा २९ लाख २० हजार ८ सय रुपैयाँ दिएको थियो। सञ्चालक समिति भत्ता वापत ढुंगानाले ३ लाख ६९ हजार र अन्य भत्ता वापत ४६ लाख ८ हजार ७ सय ३१ रुपैयाँ बुझेकी छिन्। अर्का डेपुटी गभर्नर मिश्रले तलब वापत १४ लाख ६० हजार ४ सय, बैठक भत्ता ३ लाख ७८ हजार र अन्य भत्ता ४० लाख ७० हजार ६ सय ३७ रुपैयाँ बुझेका थिए।

अघिल्लो वर्ष डेपुटी गभर्नर ढुंगानाले तलब वापत १४ लाख ६० हजार ४ सय, बैठक भत्ता २ लाख ९७ हजार र अन्य भत्ता वापत ४५ लाख ५८ हजार ५ सय २६ रुपैयाँ बुझेकी थिइन्। उक्त अवधिमा अर्का डेपुटी गभर्नर मिश्रले तलब ढुंगानाको जति नै, बैठक भत्ता वापत ३ लाख १५ हजार र अन्य भत्ता वापत ४० लाख ७० हजार ६ सय ३७ रुपैयाँ बुझेका थिए।
सञ्चालकको भत्ता
गत वर्ष राष्ट्र बैंकमा सञ्चालक मधु मारासिनीले ३६ हजार बैठक भत्ता र ४२ हजार ५ सय ४८ रुपैयाँ अन्य भत्ता, घनश्याम उपाध्यायले २ लाख २५ हजार बैठक भत्ता र १ लाख १६ हजार ४० रुपैयाँ अन्य भत्ता, चिन्तामणि शिवाकोटीले ४ लाख ३२ हजार बैठक भत्ता र ८ लाख १९ हजार २ सय ८० रुपैयाँ अन्य भत्ता, डा. शंकर प्रसाद आचार्यले ३ लाख ६९ हजार बैठक भत्ता र ८ लाख १३ हजार १ सय २० रुपैयाँ अन्य भत्ता र सञ्चालक डा. रबिन्द्र प्रसाद पाण्डेले ४ लाख १४ हजार बैठक भत्ता र ८ लाख ७१ हजार २ सय ८० रुपैयाँ अन्य भत्ता बुझेका छन्।

राष्ट्र बैंकले गत वर्ष गभर्नर, डेपुटी गभर्नर र सञ्चालकहरूलाई तलब भत्ता गरी कुल २ करोड ३३ लाख ८४ हजार ९ सय ७८ रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष कुल २ करोड ३० लाख ६६ हजार ३ सय ७९ रुपैयाँ तलब भत्तामा खर्च गरेको थियो।