काठमाडौं। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देशको अर्थतन्त्र थला परेको छ। सरकारको प्रमुख निकायदेखि ठूला उद्योग तथा होटलमा तोडफोडसहित आगजनी भए।
आन्दोलन भएको दुई महिनाभन्दा बढी समयसम्म देशको अर्थतन्त्रले गति लिन सकेको छैन। उद्योगी तथा व्यवसायीले लगानीको वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँग आग्रह गरिरहेका छन्।
लगानीसँगै व्यवसायीको वातावरण पूर्ण रुपले पुरानै अवस्थामा फर्कन कोशिस भइरहँदा नेपाल प्रिमियर लिग (एनपीएल)ले उत्साह थपेको छ। आजदेखि सुरु भएको दोस्रो चरणको एनपीएलमा खेलाडीदेखि दर्शक मात्र नभई साना ठूला व्यापारीसमेत उत्साहित भएका छन्।
कूल आठ टोली सहभागी प्रतियोगितमा विदेशबाट ठूला खेलाडीहरू भित्रिएका छन्। उनीहरूसँगै पर्यटकहरू पनि भित्रिएका छन्। यी खेलाडीहरूलाई ठूला होटलमा राखिएको छ। खेलाडीलाई फरक-फरक आठ होटलमा राख्दा यी क्षेत्रको अर्थतन्त्र केही मात्रामा चलायमान भएका छन्।
नपीएलका लागि एउटा फ्रेन्चाइज टोलीलाई झण्डै १० करोड रुपैयाँसम्म खर्च अनुमान गरिएको छ। यसबाट ठूलो मात्रामा ब्रान्डिङसँगै विभिन्न शीर्षकमा खर्च भएका छन्।
यस्तै, क्रिकेट रंगशालामा खेल हेर्न पुगेका दर्शकका लागि पानी बेच्नेदेखि विभिन्न खाने सामाग्री राखेका साना व्यापारी उत्साहित भएका छन्।
अर्थतन्त्रमा एनपीएलको योगदान
कूल आठ टोली सहभागी भएको एनपीएलमा पाँच दर्जनभन्दा बढी कर्पोरेट हाउस प्रत्यक्ष जोडिएका छन्। यस्तै, हजारौँ रोजगारीको सृजना भएको छ। यस प्रतियोगितलाई सफल र भव्य बनाएर विश्वभर ठूलो सन्देश दिनुपर्ने नेपाल क्रिकेट संघ क्यानमा सचिव पारस खड्काले बताउँदै आएका छन्।
‘एनपीएलको पहिलो दिनको टिकट सकिसकेको छ। टिकट नभएकाहरू ग्राउण्डमा आएर हुलमुल नगरिदिनुहुन आग्रह गर्दछु। टिकट नहुनेहरूले घरमै बसेर खेल हेरेर साथ सहयोग गरिदिन आग्रह गर्दछु। हामीले विश्वभरका ठूला खेलाडीलाई ल्याएर खेलाएका छौँ। यसबाट विश्वभर राम्रो सन्देश दिन सक्नुपर्छ,’ उनले भिडिओ सन्देश दिँदै भनेका छन्।
एनपीएलका लागि एउटा फ्रेन्चाइज टोलीलाई झण्डै १० करोड रुपैयाँसम्म खर्च अनुमान गरिएको छ। यसबाट ठूलो मात्रामा ब्रान्डिङसँगै विभिन्न शीर्षकमा खर्च भएका छन्। यस खर्चले समेत केही मात्रामा आर्थिक गतिविधि चलायमान बनाउन मद्दत पुग्ने अर्थविद्हरू बताउँछन्।
यी कम्पनीहरूले आगामी पाँच वर्षका लागि गत वर्ष एनपीएलसँग सम्झौता गरिसकेको थियो।
अहिले बैंक तथा वित्तीय क्षेत्रमा झन्डै १२ खर्ब रुपैयाँ ऋण योग्य रकम थुप्रिएको छ। भाटभटेनी, हिल्टनसहित ठूला उद्योग तथा होटलहरूमा आगजनी हुँदा निजी क्षेत्रको मनोबल कमजोर अवस्थामा पुगेको छ। यस्तो अवस्थामा पनि एक अर्बभन्दा बढीको आर्थिक गतिविधि एनपीएलबाट हुँदै छ। यसको सीधा प्रभाव देशको अर्थतन्त्रमा पुग्ने जानकारहरू बताउँछन्।
पहिलो संस्करणमा सुरुवाती लगानी भएकाले धेरै खर्च लागेको थियो। चालू प्रतियोगितामा फ्रेन्चाइजहरूको लाइसेन्सबाट मात्र क्यानले २७ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ।
गत वर्षजस्तै यो वर्ष पनि एनपीएलको मुख्य प्रायोजक सिद्धार्थ बैंक र सहप्रायोजकमा एनसेल नै रहेका छन् । यी कम्पनीहरूले आगामी पाँच वर्षका लागि गत वर्ष एनपीएलसँग सम्झौता गरिसकेको थियो।
यसबाहेक ठूला उद्योगले एनपीएलसँग सम्झौता गरेका छन्। यसको प्रत्यक्ष प्रभाव देशको अर्थतन्त्रसँग जोडिएको छ।