काठमाडौं। तातोपानी नाकाबाट आयात हुने विद्युतीय सवारी (ईभी) गाडी आयात प्रक्रियामा नयाँ व्यवस्था लागू हुने भएको छ। विद्युतीय सवारीसाधन आउँदा ठूला कन्टेनर आवागमनमा समस्या भएपछि चिनियाँ पक्षले नयाँ व्यवस्थामार्फत ईभी छाड्ने बताएको हो।
मालवाहक सवारीसाधन नेपाल प्रवेश गर्न साना गाडीका कारण अप्ठेरो भएपछि दुईपक्षीय सहमतिमा सातामा दुई दिन ईभी छाड्ने र बाँकी दिन अन्य मालवाहक सवारीसाधन पठाउने भएको हो। गत आइतबारदेखि लागू भएको आयातको नयाँ प्रक्रियामा तातोपानी नाकाबाट साताको दुई दिन मात्र ईभी गाडी छाडिन थालिएको हो।
तातोपानी भन्सार कार्यलयका अनुसार चीनबाट आयात हुने ईभी गत साताको आइतबारदेखि सातामा दुई दिन आइतबार र बुधबार मात्र ईभी गाडी छाडिने व्यवस्था गरिएको हो। अन्य दिन सामान्य मालसामान आयात हुने गरेको छ। तातोपानी भन्सारका सूचना अधिकारी तुलबहादुर पाण्डेका अनुसार चीनबाट तातोपानी भन्सार हुँदै आउने ईभी गत आइतबारदेखि हप्तामा दुई दिन आउन थालेको हो।
‘इभी गाडी एकै दिन धेरै छिर्दा जाम हुने भएकाले हप्तामा दुई दिन छोडिन थालिएको हो,’ सूचना अधिकारी पाण्डे भन्छन्, ‘हाल आइतबार र बुधबार ईभी गाडी आयात हुन्छ। ती दिन १०० देखि ११० युनिट ईभी गाडी प्रवेश हुन्छन्।’ सातामा दुई दिन मात्र ईभी गाडी छोड्दा जाम कम हुने भएकाले व्यवस्थापनमा सहज हुने उनको भनाइ छ।
उनका अनुसार अब आइतबारदेखि सातामा दुई दिन आइतबार र बुधबार ईभी गाडी र मेसिनरी सामान आयात हुनेछन्। अर्काे ५ दिन अन्य सामान आयात हुने गर्छ। वर्षायाममा मुख्य व्यापारिक नाका तातोपानी र रसुवागढी बन्द हुँदा व्यवसायीले पहिलोपटक भदौ अन्तिमदेखि कोरलाबाट ईभी ल्याउन थालेका थिए। हाल तातोपानी नाका सञ्चालनमा आए पनि रसुवागढी अझै बन्द छ।
तातोपानी नाका सञ्चालनमा आए पनि कोरला नाका हुँदै ईभी गाडी आउने क्रम जारी छ। अहिले कोरला नाका हुँदै बिवाईडी एटो वान, एटो टु, जेको जे फाइफ, जे सिक्स, लिपमोटर बी १०, प्रोटोन इमास सेभेन, ओमोडा ई फाइभ र डोङफेङ ईभी आयात भएका छन्।
पहिले तातोपानी नाका हुँदै बिवाईडी, दिपल, सेरेस, नामी, ओमोडा, लिपमोटर, जिकर, एमजी, फोटोनजस्ता ब्रान्डका गाडी आयात हुने गरेकामा हाल बिवाईडी गाडी कोरला नाका हुँदै आएकाले तातोपानीबाट आयात नभएको सूचना अधिकारी पाण्डेले बताए।
एक महिनामा ३६४ युनिट ईभी आयात
चीनसँगको प्रमुख नाका तातोपानी भन्सारमार्फत चालू आर्थिक वर्ष २०८१/८२ कात्तिकसम्म ३६४ युनिट ईभी गाडी नेपाल भित्रिएका छन्। एक महिने अवधिमा विशेषगरी माइक्रोबस आयात उल्लेख्य रहेको छ। भन्सार कार्यलयका सूचना अधिकारी पाण्डेका अनुसार कात्तिक महिनामा लक्ष्यको ५७ प्रतिशत मात्र असुली भएको छ।
‘एक महिनामा ३६४ युनिट ईभी गाडी आयात भएको छ। उक्त आयातबाट सरकारले १ अर्ब २० करोड ६० लाख ८८ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।’ यस महिना लक्ष्य प्राप्तिको ५७ प्रतिशत असुली भएको उनको भनाइ छ।
‘एक महिने अवधिमा ईभी माइक्रो १२१ युनिट युनिट आयात भएको छ भने अन्य कार जीप भ्यान २४३ युनिट आयात भएको छ।’ हाल तातोपानी नाकाबाट ओमोडा एन्ड जेक्कोको आयात सबैभन्दा धेरै मात्रामा भएको छ।