काठमाडौं। वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्ला दिनमा बजार अनुगमन तथा निरीक्षणको कामलाई थप तीव्र पारेको छ। विभागले बिहीबार मात्रै काठमाडौंका ९ वटा पानी उद्योगमा अनुगमन गरेको थियो।
पिउनेपानीमा कैफियत भेटिएको भन्ने गुनासो आएपछि विभागले अनुगमन गरी उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन र कारबाही गरेको छ। विभागले कोसी मिनरल वाटर उद्योग, स्तुपा इन्डस्ट्रिज, सहभागिता वाटर एन्ड वेभरेजलगायतलाई गुणस्तर कायम गर्न निर्देशन दिएको थियो।
यस्तै, मंसिर ३ गते काठमाडौंका विभिन्न ११ वटा पसल, उद्योग तथा प्रतिष्ठानमा अनुगमन गरेको थियो। गोकर्णेश्वरमा रहेको जल्पादेवी कस्मेटिक र सुजाता फेन्सीलाई नगद जरिवाना गरेको थियो।
मंसिर २ गते विभागले विभिन्न आठ वटा उद्योग तथा फर्ममा अनुगमन गरेको थियो। अनुगमनका क्रममा परागन फुटवेयर उद्योग चन्द्रागिरिलाई ५० हजार जरिवाना गरेको थियो।
यस्तै, राजेश स्यानिटरी वेयरलाई ५० हजार र एक्वा सञ्जीवनी पानी प्रशोधन उद्योगलाई २० हजार जरिवाना गरेको थियो। त्यसैगरी, मंसिर १ गते विभिन्न पाँचवटा उद्योग तथा फर्ममा विभागले अनुगमन गरेको थियो।
कैफियत देखिएको पाइएपछि विभागले कविता वेभरेज प्रालिलाई १० हजार जरिवाना गराएको थियो। बजारलाई स्वच्छ, मर्यादित र उपभोक्तामैत्री बनाउन विभागले नियमित अनुगमनलाई तीव्रता दिएको जनाएको छ।
विभागले स्थानीय सरोकारवालाको समेत साथ लिई बजार अनुगमनलाई तीव्र पारिएको स्पष्ट पारेको छ।