काठमाडाैं। म्याग्दीमा प्रमुख खाद्यान्नबालीका रूपमा रहेको धानको उत्पादन यस वर्ष बढेको छ। गत वर्षको तुलनामा ३.१ प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ।
अनुकूल मौसम, रोगकिराको समस्या नदेखिएनु, भित्र्याउने समयमा असिना नपर्नु, बेमौसमी वर्षाले कम असर गर्नुलगायत कारणले यस वर्ष तीन दशमलव उक प्रतिशतले धान उत्पादन बढेको कार्यालयका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिए। ‘धान रोप्ने र हुर्कने समयमा पर्याप्त वर्षात हुनुका साथै भित्र्याउने समयमा पनि मौसमले साथ दियो’, उनले भने ‘रोगकिराको समस्या नदेखिएको र असिना नपरेकाले धान उत्पादन बढेको हो।’
गत कात्तिकको दोस्रो साता भएको बेमौसमी वर्षाले म्याग्दीका धानबालीमा ठूलो क्षति नपुर्याएको कार्यालयले जनाएको छ। जिल्लामा तीन हजार ८०६ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकामा गत वर्ष प्रतिहेक्टर ३.५९ टनका दरले १३ हजार ६६३ टन धान उत्पादन भएको थियो। यस वर्ष प्रतिहेक्टर ३.७० टनका दरले १४ हजार ८७ टन धान उत्पादन भएको कार्यालयका प्रमुख बास्तोलाले जानकारी दिए।
जिल्लाका विभिन्न ठाउँमा गरिएको बाली कटान विधिबाट उत्पादनको तथ्यांक संकलन गरिएको कृषि प्रसार अधिकृत गंगा लामिछानेले बताए। उनका अनुसार गौरीया, गुडुरा, जेठो बुडो, जर्नेली, पहेँले, मार्सी, शंकर, युएस–३१२ लगायत जातका धानखेती यहाँका मुख्य बाली हुन्।