काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएका छन्। नेपाल पर्यटन बोर्ड र स्पा सङ्घ नेपालको आयोजनामा विश्व आरोेग्य दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले आगामी दश वर्षलाई ‘आरोग्य दशक’का रुपमा मनाउने तयारी भइरहेको जानकारी दिए।
मन्त्री पौडेलले आरोग्य दशक मनाउनका लागि आवश्यक नीति तथा रणनीति निर्माण प्रक्रिया अघि बढिरहेको बताए। आरोग्य पर्यटन अध्ययनलाई होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)मार्फत स्नातक तथा स्नातकोत्तर तहसम्म विस्तार गर्ने तयारी भइरहेको उनको भनाइ छ।
मन्त्री पौडेलले नेपाल आध्यात्मिक भूमि भएकाले यहाँको हिमाल, नदी, वनजङ्गल र प्राकृतिक वातावरणले मानिसलाई आत्मिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने बताए। “पर्यटनको सबैभन्दा ठूलो आधार खुसी हो, आजको विश्वले सबैभन्दा बढी खोजिरहेको विषय पनि खुसी हो। नेपालसँग आध्यात्मिकता, योग, ध्यान, प्राकृतिक उपचार र आरोग्य जीवनशैलीको अनुपम सम्भावना छ, जसलाई व्यवस्थित रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ,” उनले भने।
कार्यक्रममा स्पा सङ्घ नेपालका अध्यक्ष सुरेश पुरीले विश्वभर करिब ७० करोड मानिस आरोग्य पर्यटनसँग आबद्ध रहेका उल्लेख गर्दै स्पालाई केवल विश्राम र मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई रोगको रोकथाम र स्वस्थ जीवनशैलीको महत्वपूर्ण अङ्गका रूपमा बुझ्नुपर्ने बताए।
उनले स्पा तथा आरोग्य क्षेत्रको व्यवस्थित विकासका लागि स्पष्ट कार्यविधि, अन्तरराष्ट्रियस्तरको सेवा प्रणाली तथा तीन महिनाको व्यावसायिक तालिम र प्रमाणीकरण प्रणाली आवश्यक रहेको उल्लेख गरे। “विश्व आरोग्य दिवस विगत १५ वर्षदेखि निरन्तर मनाइँदै आएको छ, नेपालमा पनि आरोग्य पर्यटनलाई राष्ट्रिय प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक छ,” उनले भने।
नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक लक्ष्मण गौतमले स्पाको इतिहास बेल्जियमका तातोपानीको कुण्डसँग जोडिएको स्मरण गर्दै नेपालमा आयुर्वेद जीवनशैलीकै अभिन्न हिस्सा रहेको बताए। उनले स्पा क्षेत्रलाई सम्मानित र व्यावसायिक पेसाका रूपमा विकास गर्नु समयको आवश्यकता रहेकाले सरकारले सोको तयारी गर्नुपर्नेमा जोड दिए।
स्पा सङ्घ नेपालका सचिव रामदेव महतोले आधुनिक समाजमा स्पा केवल मसाजको पर्याय नभई शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य प्रवद्र्धन गर्ने प्रभावकारी माध्यम बनेको बताए। बढ्दो तनाव, व्यस्त जीवनशैली र मानसिक दबाबबाट मुक्ति दिलाउन स्पा सेवाले महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ छ।
अन्तर्राष्ट्रिय आरोग्यविज्ञ डोनाल्ड चाले नेपाल आफैँमा आरोग्यको प्रतीक रहेको भन्दै योग, ध्यान, उपचार पद्धति, स्पा तथा आध्यात्मिक अभ्यासलाई आर्थिक मूल्यमा रूपान्तरण गरी पर्यटन उद्योगको महत्वपूर्ण आधार बनाउनुपर्ने बताए।