काठमाडौं। अर्थविद् स्वर्णिम वाग्लेले पछिल्लो डेढ दशकदेखिको राजनीतिक–आर्थिक उथलपुथलको चक्रमा अर्थतन्त्र फसेको बताएका छन्। सोही कारण भदौ २३ र २४ को जेनजी घटनाले घटित भएको उनको भनाइ छ।
बुधबार राष्ट्रिय युवा परिषद्ले बुधबार आयोजना गरेको कार्यक्रममा रास्वपा नेतासमेत रहेका डा. वाग्लेले यस्तो बताएका हुन्।
उनले भने, ‘संक्रमणको सफल व्यवस्थापन हुन सके देशले नयाँ आर्थिक–राजनीतिक मार्ग प्राप्त गर्न सक्छ। तर, असफल भए पुनः प्रतिगमनको जोखिम गम्भीर रूपमा बढ्ने संकेत देखिए।’
अर्थशास्त्री वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु अझ गलत हुने औंल्याए। २०४८ पछिको निर्वाचित सरकारले लिएका आर्थिक नीतिका कारण नेपालमा धेरै परिवर्तन भएको उनको दाबी थियो।
‘यसलाई सबैले स्वीकार गर्नुपर्छ। २०४८ पछिको सरकारद्वारा सुरु गरिएको आर्थिक सुधारले नेपाललाई ७ प्रतिशतको औषत आर्थिक वृद्धिदरमा उकासेको थियो। यदि त्यसलाई निरन्तरता दिइएको भए हाल नेपालको अर्थतन्त्र करिब १ सय अर्ब डलरको आकारमा पुग्थ्यो। तर, हाल ४५ अर्ब डलर बराबरको अर्थतन्त्र रहेको छ’, पूर्वकांग्रेस नेतासमेत रहेका वाग्लेले भने।
चुनौतीपूर्ण अवस्थाबाट देशलाई निकाल्ने जिम्मेवारी नयाँ पुस्ताका राजनीतिक पात्र तथा नयाँ दलहरूले वहन गर्नुपर्नेमा उनले जोड दिए।
‘नेपालमा एक डेढ दशकदेखि उकुसमुकुस भइरहेको छ। जेनजी आन्दोलनले विस्फोट पनि भयो। मुलुकको अर्थराजनीतिक कोर्सलाई नै बदलिने गरी भएको यो घटना सम्हाल्न नसकिए देशका निम्ति दुर्भाग्य हुनेछ। संक्रमणलाई व्यवस्थापन गर्न नसके फेरि प्रतिगमन, पश्चगमन र युवाले देशमा अलिअलि बल्न लागेको दियो पनि निभ्ने हो कि भन्ने चिन्ता छ’, उनले भने।