काठमाडौं। भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी पुँजीको २० प्रतिशतका दरले प्रतिसेयर अंकित एक सय रुपैयाँ दरका आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६ लाख ४४ हजार कित्ता सेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
आज नेपाल लाइफ क्यापिटलको कार्यालयमा सम्पन्न एक कार्यक्रमबीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो। सम्झौता पत्रमा भगवती कम्पोजिट इण्डष्ट्रिजका तर्फबाट अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने तथा नेपाल लाइफ क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरे।
भगवती कम्पोजिट इण्डष्ट्रिजले विगत १५ वर्षदेखि चितवनको भरतपुरमा अत्याधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय उद्योगजन्य वस्तुहरु उत्पादन गर्दै आइरहेको छ। यसको उद्देश्य उच्च गुणस्तरका, दिगो, सुरक्षित र प्रविधिमैत्री उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउनु हो। अत्याधुनिक सिट मोढलिङ कम्पाउण्ड प्रविधिमा आधारित कभरहरू, डब्लु पी सी उच्च घनत्वका ढोकालगायत विभिन्न सामाग्री उत्पादन गर्दै आएको छ।
फाइबर प्रबलित प्लास्टिक प्रविधिअन्तर्गत ढोका, झ्याल, ढोका–झ्यालको फ्रेम, फाइबर सिट, फाइबर बाथ टब, फाइबर स्लाइड तथा अन्य सबै प्रकारका फाइबर उत्पादनहरू उच्च गुणस्तरमा उत्पादन गर्दै आइरहेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, सेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमति प्राप्त मर्चेन्ट बैंकिङ्ग संस्था हो।