गण्डकी। युवाहरूलाई उद्यमशीलतासँग जोड्ने उद्देश्यले गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा पोखरामा तीन महिने सीपमूल तालिम सुरु भएको छ। तालिमको बुधबार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शुभारम्भ गरे।
उनले युवालाई सीपमार्फत स्वदेशमै रोजगारी, व्यावसायिक अवसर र उद्यमशीलतासँग जोड्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे। व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, कास्कीका प्रमुख अनिल सुवेदीका अनुसार १३ शीर्षकमा तालिम सञ्चालन हुनेछ।
एक हजार ती सय ५५ जनाले तालिमका लागि आवेदन दिएकामा यसपटक दुई सय ९९ जना मात्र छनोटमा परेको उनले बताए।
तालिमका सहभागीलाई पाककला, कपाल काट्ने (सैलुन), आधारभूत केश-शृंगार (ब्यूटीपार्लर), विद्युत् जडान, प्लम्बिङ, मोबाइल मर्मत, आधारभूत कम्प्युटर, सिलाइ-कटाइ, बुटिक डिजाइन, मोटरसाइकल मर्मत, अटोमोबाइल, मन्टेश्वरी शिक्षालगायत सीप प्रदान गरिने छ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमार्फत गत आवमा पनि ३८ वटा सीपमूलक तालिम सञ्चालन गरिएको थियो।
गत वर्ष सात सय ८७ जनाले विभिन्न १० किसिमका सीप आर्जन गरेका थिए। युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सीप विकासको कार्यक्रमलाई प्राथमिकता दिइएको मन्त्री थापाले बताए। उद्यमशीलता प्रवद्र्धनका लागि बिउपुँजी र ब्याजनमा अनुदानसमेत दिइएको उनको भनाइ छ।
'सीप सिकेर स्वेदशमै उद्यम गर्न चाहाने युवालाई प्रदेश सरकारले आर्थिक सहायता उपलब्ध गराउँछ, बैंकबाट सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने र ब्याजमा अनुदान दिने व्यवस्था मिलाइएको छ,' मन्त्री थापाले भने, 'उद्यम सञ्चालन गर्न आर्थिक अवस्था कमजोर भएकाको साथमा प्रदेश सरकार छ।'
केन्द्रबाट व्यावसायिक सीप सिकेका कतिपय युवाहरू उद्यमशिलतामा जोडिइसकेका छन्। कमाइ गर्न विदेश जानेहरूलाई पनि हातमा सीप हुँदा रोजगारीमा सहज भएको छ।