काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनको दिन फागुन २१ गते राष्ट्रिय संवाद गर्न प्रस्ताव राखेका छन्। पार्टी केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीका उम्मेदवारको बहस गराउन सम्भव नभए पनि मतगणनाअघि राष्ट्रिय संवाद गर्ने प्रस्ताव राखेका हुन्।
‘चुनाव सकिएको भोलिपल्ट मतगणना गर्नुअघि राष्ट्रिय बहस गरौँ,’ उनले भने, ‘यदि, सरकारले चाह्यो भने सबै राजनीतिक दलहरू सहमत हुनुभयो भने राष्ट्रिय संवाद गर्नको लागि हामी तयार छौँ।’
पत्रकार सम्मेलनमा बोल्दै उनले बाकस खोल्नुअघि सुशासनका निम्ति, सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्ने, आलोपालोको पद्धति भत्काएर ५ वर्ष टिक्ने सरकार बनाउने, जेनजीसहित सबैको मुद्दामा साझा धारणा बनाउन राष्ट्रिय संवाद आवश्यक रहेको बताए।
यसअघि कांग्रेस बहुमततिर अघि बढेको प्रवक्ता देवराज चालिसेको भनाइ थियो। उनले भने, ‘पार्टी नेतृत्वको अगुवाइमा सुदृढ प्रचार र जनताको अभूतपूर्व समर्थनले पार्टीलाई बहुमतको दिशातर्फ लैजाँदै छ। छोटो समयमा पार्टीले चालेको अभ्यास र नवयुवाहरूको परिवर्तनको चाहनालाई मूर्तरुप दिन सबै तहबाट प्राप्त साथले बदलिएको कांग्रेस, बदल्छौँ देश भन्ने हाम्रो नारा व्यवहारिक रूपमा सफल भएको छ।’
पार्टी नेतृत्वमा गगन थापा आएपछि विगतमा निष्क्रिय भएका, पार्टी छाडेर गएकाहरू पनि फर्किसकेको उनको दाबी थियो।