काठमाडौं। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता अभिलेखीकरणका लागि ‘सफ्टवेयर’ प्रणाली सञ्चालनमा ल्याएको छ।
प्राधिकरणले सहकारी सञ्चालक तथा व्यवस्थापन पक्षको भौतिक उपस्थितिबिनै स्वचालित ‘अनलाइन’ प्रणालीबाट सहकारीको दर्ता अभिलेखीकरण सुरु गरेको हो।
दर्ता अभिलेखीकरण सुरुआतको जानकारी दिन आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डाक्टर खगराज शर्माले सहकारी पनि कर्जा सूचना केन्द्रको सदस्य बन्न सक्ने व्यवस्था गरिएको जानकारी दिए। उनले निक्षेप तथा कर्जा सुरक्षण कोषमा समावेश हुने विषयमा पनि सहज बनाउने बताए।
‘सहकारीको कर्जा सुरक्षा गर्ने सन्दर्भमा हामी ध्यान दिनेछौँ, सहकारी ऐनले भनेअनुसार बचत तथा ऋणको कारोबार गर्न, बहुउद्देश्यीय र कृषि सहकारीलाई समन्वय र सहजीकरण गरिरहेका छौँ, समस्या समाधानका विभिन्न उपाय अवलम्बन गरेर सहकारी पीडित दिनदिनै सडकमा आउने अवस्था अन्त्य गर्छौं’, उनले भने।
अध्यक्ष शर्माले सम्पत्ति शुद्धीकरणको विषयमा ध्यान दिएर सहकारीलाई निश्चित प्रणालीमा ल्याउन ध्यान दिने कुरामा जोड दिँदै विगतमा सृजना भएको समस्यालाई सबै पक्ष मिलेर समाधान गर्नुपर्ने धारणा राखे।
बचत तथा ऋणको कारोबार गर्ने मुख्य उद्देश्य राखेर देशभर दर्ता भएका सहकारीको नियमन, सुपरिवेक्षण र अनुगमनका लागि सरकारले २०८१ माघ १४ मा सहकारी नियमन प्राधिकरण गठन गरेको थियो।