काठमाडौं। नेपालमा वार्षिक रुपमा २ अर्ब बढी रुपैयाँको कारोबार हुने गरेको छ। आन्तरिक १ अर्ब र सोही मात्रमा बाहिर निर्यात गरी वार्षिक २ अर्ब बढी रुपैयाँको कारोबार भइरहेको दाबी गरिएको छ।
तर, व्यवासयीक रुपमा अम्रिसोखेती गरिरहेका किसानले भने मूल्य पाउन सकेका छैनन्। नेपालबाट ठूलो मात्रामा अम्रिसोको कुचो निर्यात हुँदै आएको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको चार महिनाको अवधिमा मात्रै नेपालले कुचो निर्यात गरेर ३२ करोड ५४ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ।
साउन, भदौ, असोज र कात्तिक महिनाको अवधिमा नेपालबाट ४ हजार ९४२ टन कुचो निर्यात भएको विभागको तथ्यांक छ। नेपाली अम्रिसोको कुचो भारत र बंगलादेशमा निर्यात हुँदै आएका छन्। नेपालले वार्षिक रुपमा १ अर्ब २६ करोड रुपैयाँको अम्रिसोको कुचो निर्यात गर्दै आएको छ। सो बराबार करिब १५ हजार टन अम्रिसो निर्यात गरिरहेको सरकारी तथ्यांक छ। नेपालले निर्यात गर्ने बराबर नै आन्तरिक खपत गरिरहेको नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीको अनुमान छ।
कार्कीले नेपालमा अम्रिसोको उत्पादनमा उल्लेख्य वृद्धि भएको बताउँछन्। पशुपालन व्यवसायको विस्तार र खेती नगरिएका जमिनहरूको उपयोगका लागि अम्रिसोको उत्पादन वृद्धि भएको उनको दाबी छ।
‘अम्रिसोको घाँसलाई पशुपालनका लागि पौष्टिक मानिनु र विदेश रोजगारीका कारण खाली भएका खेतबारीमा यसको खेती बढ्नुले उत्पादन बढाएको छ,’ उनले भने, ‘नेपालमा आन्तरिक र बाह्य गरी कुल वार्षिक बजार करिब २ अर्बदेखि २ अर्ब २५ करोडको कारोबार हुने गरेको छ।’
उचित मूल्य र बजार व्यवस्थापन नहुँदा स्थानीय पालिकाभित्र अम्रिसो उत्पादन गर्ने किसान मारमा परेका छन्।
अम्रिसो उत्पादन गर्ने किसानले मूल्य पाउन नसकेको गुनासो गर्दै आएका छन्। उदयपुरको मध्यपूर्वी पहाडी क्षेत्रमा केही वर्षयता कृषकले अम्रिसो उत्पादनमा जोड दिँदै आएका छन्। त्रियुगा नगरपालिकाका साउने, खाँबु, रौता, मलबासे, मुर्कुची, क्षेत्रका कृषकले व्यावसायिक रूपमा अम्रिसो उत्पादन गर्दै आएको त्रियुगा नगरपालिकाका प्रतिनिधि बताउँछन्। तर, अम्रिसो उत्पादक किसानले बजार मूल्य भने पाउन सकेका छैनन्। उचित मूल्य र बजार व्यवस्थापन नहुँदा स्थानीय पालिकाभित्र अम्रिसो उत्पादन गर्ने किसान मारमा परेका छन्।
नगरपालिकाको वडा नम्बर १४ का वडाध्यक्ष हिमराज मगरका अनुसार, अम्रिसोको उत्पादनले बजार नपाएको कारण विगत दुई वर्षदेखि ठूलो मात्रामा खेर गइरहेको छ। बजारको अभावमा अम्रिसोको मूल्य नपाएपछि किसानले उत्पादनलाई फाल्ने वा थुपारेर राख्ने गरेका छन्। मगरका अनुसार धेरै किसानले गत वर्षदेखिको अम्रिसो भण्डारण गरेर राखेका छन्, जसले गर्दा उनीहरूलाई निकै घाटा लागेको छ। ‘मूल्य नपाएर दुई वर्षदेखि त्यतिकै थुपारेर राखेका छन्,’ उनले भने।
कुचो बनाएर बेच्नेले मात्र थोरै भए पनि बजार पाएका छन्। तर, मूल्य भने निकै सस्तो छ। कुचो बनाएर बेच्ने किसानले प्रतिगोटा कुचोको जम्मा २० देखि ३० रुपैयाँ मात्र मूल्य पाइरहेको मगर बताउँछन्। कुचो नबनाएकाहरूको हकमा भने अम्रिसो बिकेको छैन। ‘यस वर्ष बजार नपाएको कारण धेरै किसानले अम्रिसो रोप्न नै छोडिसकेका छन्,’ उनले भने, ‘रोपेका किसानले पनि कुचोको रूपमा बिक्री गर्नुभन्दा बरु गाईवस्तुलाई घाँसका रूपमा खुवाउने कार्य गरिरहेको छन्।’

नेपालमा उत्पादन हुने अम्रिसो निर्यातको मुख्य गन्तव्य हालसम्म भारतमा मात्रै सीमित छ। भारतमा समेत अम्रिसोको उत्पादन बढिरहेकाले भविष्यमा नेपाली कुचोको बजार खस्किन सक्ने जोखिम रहेको कार्की बताउँछन्। ‘बंगलादेश जस्ता देशहरूमा ५१ प्रतिशतसम्म अत्यधिक कर लाग्नुले तेस्रो मुलुकमा निर्यातको सम्भावनालाई खुम्च्याएको छ,’ उनले भने, ‘हाल नेपालले करिब १ अर्बको निर्यात गर्दछ भने लगभग सोही मात्रामा आन्तरिक रूपमा खपत गरीरहेको छ।’
नेपाल तीव्र सहरीकरण भइरहेकाले सहरमा अम्रिसोको कुचोको खपत बढेको उनको दाबी छ।। देशका प्रमुख सहरमा अम्रिसोबाट कुचो बनाउने १०–१२ वटा कारखाना व्यावसायिक रूपमा सञ्चालनमा छन्। जसले मुलुकलाई कुचोको सन्दर्भमा आत्मनिर्भर बनाएको छ। अम्रिसो खेतीले निर्यात, आन्तरिक खपत र स्वरोजगार बाहेक भू–क्षय नियन्त्रण र पशुपालन व्यवसायलाई सहयोग पुर्याएको जस्ता बहुआयामिक लाभ पनि दिएको कार्कीको दाबी छ।
निर्यातका लागि तेस्रो मुलुकहरूमा लाग्ने उच्च कर हटाउन सरकारी तवरबाट पहल आवश्यक रहेको कार्कीको तर्क छ। नगदेबालीको रूपमा अम्रिसाको खेती गरिन्छ। अम्रिसोको खेती गर्न खासै मेहेनत गर्न नपर्ने र सुख्खा जमिनमा खेती गर्न सकिने भएकाले पछिल्ला केही समय यसप्रति किसानको अकर्षण देखिएको छ। तर, अहिले अम्रिसोले मूल्य पाउन नसक्दा यस खेतीमा किसान निरुउत्साहित हुन थालेका हुन्।