काठमाडौं। उद्योग विभागका अनुसार नेपालमा चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा ४७ अर्ब ६१ करोड रुपैयाँ बढीको वैदेशिक लगानी (एफडीआई)प्रतिबद्धता प्राप्त भएको छ।
तथ्यांकअनुसार साउनदेखि जेठसम्म स्वीकृति तथा स्वचालित दुवै प्रणालीमार्फत कुल ९१४ उद्योगका लागि ४७ अर्ब बढीको एफडीआई प्रतिबद्धता आएको हो।
विभागका अनुसार यस अवधिमा स्वीकृतिप्रणालीमार्फत २०३ उद्योगका लागि ३९ अर्ब ९० करोड ६७ लाख बराबरको लगानी प्रतिबद्धता आएको छ भने स्वचालित मार्गबाट ७११ उद्योगका लागि ७ अर्ब ७१ करोड ६८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ।

सबभन्दा ठूलो लगानी प्रतिबद्धता कृषि क्षेत्रमा देखिएको छ। विभागका अनुसार १६ वटा कृषि उद्योगका लागि २२ अर्ब ८ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ। यसले कृषिमा व्यावसायिकीकरण, कृषि प्रशोधन तथा निर्यातमुखी कृषि उद्योगमा विदेशी लगानीकर्ताको चासो बढेको संकेत गर्छ।
समीक्षा अवधिमा सेयर पर्चेज एग्रिमेन्ट (एसपीए) तथा सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) मार्फत ५३ उद्योगका लागि १ अर्ब ११ करोड १९ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ। ४८ वटा उद्योगका लागि प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) स्वीकृत गरिएको छ।
चालू आर्थिक वर्षमा सबभन्दा धेरै उद्योग सूचना प्रविधि क्षेत्रमा दर्ता भएका छन्। विभागका अनुसार ५७७ वटा सूचना प्रविधिसम्बन्धी उद्योगमा २ अर्ब ३६ करोड बराबरको एफडीआई प्रतिबद्धता आएको छ।
पर्यटन क्षेत्रका २०२ उद्योगमा १२ अर्ब ९९ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको विभागको तथ्यांकमा उल्लेख छ। सेवा क्षेत्रका ६२ उद्योगमा ४ अर्ब ५९ करोड, उत्पादनमूलकका ५२ उद्योगमा ३ अर्ब ५७ करोड, पूर्वाधार क्षेत्रको एक उद्योगमा १६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।
विभागका अनुसार समीक्षा अवधिमा ८९४ वटा साना उद्योग, ११ वटा मध्यम उद्योग र ९ वटा ठूला उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ। यी उद्योग सञ्चालन भए थप २५ हजार ४५० जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ।