काठमाडौं। नेपालको उड्डयन क्षेत्रलाई थप सुरक्षित, एकताबद्ध, दिगो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित वायुसेवा सञ्चालक संघ नेपाल र एरोनटिकल सोसाइटी अफ नेपालबीच सहकार्यका लागि सम्झौता भएको छ। सोमबार आयोजित कार्यक्रममा संघका अध्यक्ष प्रतापजंग पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गर्दै यस सहकार्यलाई नेपाली उड्डयन क्षेत्रको दीर्घकालीन विकास र सुरक्षातर्फको महत्त्वपूर्ण कदम भएको बताए।
विगत २०५५ सालदेखि नेपालको उड्डयन उद्योगको प्रतिनिधिमूलक संस्थाका रूपमा सक्रिय एओएएन र २०७५ सालमा स्थापना भई प्राविधिक ज्ञान, अनुसन्धान तथा नवप्रवर्तनमा योगदान दिँदै आएको एईएसएनबीचको सहकार्यले उद्योग र प्राविधिक क्षेत्रबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार नेपालमा उड्डयन क्षेत्रको डिजिटल रूपान्तरण, स्वचालन, डेटा–आधारित निर्णय प्रणाली तथा कृत्रिम बौद्धिकता (एआई) जस्ता आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिनेछ। विश्वव्यापी रूपमा तीव्र गतिमा परिवर्तन भइरहेको उड्डयन उद्योगका चुनौती सामना गर्न र अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपालको उड्डयन प्रणालीलाई सुदृढ बनाउन दुवै संस्थाले संयुक्त रूपमा काम गर्ने जनाइएको छ।
यस सहकार्यले वायुसेवा कम्पनी, विमानस्थल, सेवा प्रदायक संस्था, इन्जिनियर, प्राविधिक जनशक्ति, अनुसन्धानकर्ता, शिक्षाविद् तथा विद्यार्थीहरूलाई एउटै साझा मञ्चमा जोड्नेछ। साथै, ज्ञान, अनुभव र नवप्रवर्तनको आदानप्रदानमार्फत सुरक्षित, दक्ष र भविष्यउन्मुख उड्डयन वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।
उद्योग र प्राविधिक समुदायबीचको यस्तो सहकार्यले नेपालको उड्डयन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने तथा हवाई सुरक्षासहित सेवा गुणस्तर सुधारमा महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको संघका अध्यक्ष पाण्डको विश्वास छ।