काठमाडौं। भारतमा बढ्दो गर्मीबाट राहत खोज्दै आउने भारतीय पर्यटकहरूको चापले काठमाडौं, पोखरा र चितवनसहितका पर्यटकीय गन्तव्यका होटल भरिभराउ भएका छन्। पोखरा हुँदै मुक्तिनाथसम्म पुग्ने भारतीय पर्यटकको संख्या विशेष रुपमा उल्लेख्य रहेको छ। त्यसैगरी, नेपाल हुँदै मानसराेवर यात्रामा निस्किने भारतीय पर्यटककाे संख्याले पनि नेपालकाे आथित्य उद्याेग चम्किएकाे छ।
अहिले भारतको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको छ। अत्यधिक गर्मीका कारण नयाँ दिल्ली, हरियाना र उत्तरप्रदेशका अधिकांश विद्यालय बन्द भएपछि पारिवारिक भ्रमणका लागि निस्कनेहरूको संख्या बढेको हो। यस्तो अवस्थामा गर्मीबाट मुक्ति पाउने उपयुक्त गन्तव्यका रूपमा नेपाललाई रोज्नेहरूको संख्या बढेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले जानकारी दिए।
पोखरा अभियानको सकारात्मक प्रभाव
पोखराका पर्यटन व्यवसायीहरूले लामो समयदेखि भारतका विभिन्न शहरमा गएर सञ्चालन गर्दै आएको 'चलिए पोखरा' अभियानको प्रभाव अहिले विस्तारै देखिन थालेको लामिछानेको भनाइ छ।
काठमाडौं म्यारियटका सञ्चालक शशिकान्त अग्रवालले विगतको तुलनामा यस वर्षको गर्मीयाममा उल्लेख्य संख्यामा भारतीय पर्यटक नेपाल आएको बताए। 'अहिले धार्मिक भ्रमणका साथै खर्चालु भारतीय पर्यटकहरूको पनि रोजाइ नेपाल परिरहेको छ,' उनले भने, 'पाँचतारे होटलको अधिभोग दर बढाउनमा समेत भारतीय पर्यटकको महत्त्वपूर्ण भूमिका रहेको छ।'
पहिले भारतीय पर्यटकहरू मुख्यतः पशुपतिनाथ दर्शन गरी साना होटलमा बसेर फर्किने गर्थे। तर अहिले धनाढ्य र खर्चालु पर्यटकहरू पाँचतारे होटलमा बस्न थालेपछि होटल व्यवसायमा सकारात्मक प्रभाव पर्न थालेको व्यवसायीहरू बताउँछन्।
निजी सवारीमा आउनेको संख्यामा वृद्धि
होटल एसोसिएसन अफ नेपाल (हान)का कोषाध्यक्ष तथा प्रजाला ग्रुपका अध्यक्ष युवराज श्रेष्ठले भारतीय पर्यटकहरूको संख्या उत्साहजनक रहेको जानकारी दिए। 'सडक पूर्वाधारको सहजताका कारण निजी सवारीसाधनमा आउनेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ,' उनले भने, 'अहिले काठमाडौंका अधिकांश होटल भारतीय पर्यटकले नै भरिएका छन्।'
पोखरा पर्यटन परिषद्का उपाध्यक्ष तथा होटल रानिवन अर्किडका सञ्चालक हरि भुजेलले गर्मी लागेसँगै भारतीय पर्यटकको संख्या ह्वात्तै बढेको बताए। 'अहिले पोखराका होटल तथा रेस्टुरेन्ट भारतीय पर्यटकले भरिएका छन्। निजी तथा भाडाका सवारीसाधनमा आउनेहरूको संख्या व्यापक छ, यसले व्यवसायीहरूलाई नयाँ ऊर्जा दिएको छ,' उनले भने।
चितवनको सौराहामा पनि यही अवस्था छ। जंगल सफारी लज सौराहाका कार्यकारी निर्देशक सुमन घिमिरेले विगत केही वर्षको तुलनामा यस वर्ष जेठ महिनामा भारतीय पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको जानकारी दिए। 'जेठ महिनालाई पहिले अफ सिजनका रूपमा लिइन्थ्यो, तर यो वर्ष भारतीय पर्यटकहरूको उत्साहजनक उपस्थितिले चहलपहल बढेको छ,' उनले भने।
मोदीको आग्रहको अप्रत्यक्ष प्रभाव
एक महिनाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकलाई अमेरिकी डलर बचत गर्न र विदेशी भ्रमणमा कटौती गर्न आग्रह गर्दै स्वदेश भित्रै घुम्न प्रोत्साहित गरेका थिए। यसको अप्रत्यक्ष प्रभावस्वरूप कम खर्चमा भ्रमण गर्न सकिने र भारतीय मुद्रा नै चल्ने नजिकको गन्तव्यका रूपमा नेपाललाई रोज्नेहरू बढेको व्यवसायीहरू बताउँछन्।
हाल भारतीय नागरिकले प्रतिव्यक्ति पाँच हजार अमेरिकी डलर बराबरको भारतीय मुद्रा नेपाल ल्याउन पाउने व्यवस्था छ। यसका साथै भारतीय बैंकहरूमार्फत क्यूआर कोडद्वारा भुक्तानी गर्न सकिने सुविधाले पनि भारतीय पर्यटकका लागि नेपाल झन् सहज गन्तव्य बनेको बताइन्छ।