काठमाडौं। काठमाडौंको कुनै पनि ठूलो होटलमा नोभेम्बर लाग्दै गर्दा सुगन्धित ड्राइ–फ्रुट, बदाम, चेरी, खजुर , रम र ब्रान्डी मिसिएकाे एक विशेष माहोल देखापर्छ–क्रिसमस केक मिक्सिंग सेरेमनी। सुरुमा विदेशी पाहुनाका लागि मात्र आयोजना गरिने यो परम्परा अहिले नेपालकै सहर–सहरमा फैलिँदै छ।
बाहिर चिसो हावाले हिउँदे मौसमको आगमन सुनाउँछ,भित्र भने रंगीन एप्रोन लगाएका पाहुना र शेफहरू विशाल स्टेनलेस स्टिलका बोल वरिपरि उभिएर सामूहिक रूपमा उत्सव मनाइरहेका हुन्छन्। यही दृश्य अब नेपाली पर्यटन क्षेत्रमा एक नयाँ सांस्कृतिक–व्यावसायिक ट्रेन्ड बन्न पुगेको छ।

नेपालमा कसरी सुरु भयो?
नेपालमा केक मिक्सिङ संस्कारको व्यावसायिक अभ्यास विशेषगरी पाँचतारे होटलहरूले करिब २०/२२ वर्षअघि सुरु गरेका थिए। होटल अन्नपूर्ण, सोल्टी र एभरेष्ट होटलले सुरुमा विदेशी पर्यटकहरुलाई लक्षित गरी केक मिक्सिङ संस्कारको सुरुवात गरिएको थियो।
कोर्रा टुर्सका प्रमुख कार्यकारी अधिकृत विजय अमात्यले अन्तर्राष्ट्रिय चेन होटलहरुले विश्वभर चल्ने यो परम्परा नेपालमा ल्याएको बताए। ‘केक मिक्सिङको एउटै उद्देश्य हो–फेस्टिभ सिजनको आधिकारिक सुरुवात घोषणा गर्नु हो,’ प्रमुख कार्यकारी अधिकृत अमात्यले भने, ‘होटलहरूका विदेशी पाहुना, पर्यटन व्यवसायी तथा नियमित ग्राहकलाई एकै ठाउँमा भेला पार्ने सामाजिक–सांस्कृतिक क्यालेन्डरको अनिवार्य इभेन्ट जस्तै मानिन्थ्यो।’

अहिले त अधिकांश होटलले परम्पराकै रुपमा केक मिक्सिङलाई लिन थालिएको उनको भनाइ छ। जसले अहिले अधिकांश पाँचतारे होटल, तारे होटल र रिसोर्टहरुले अनिवार्य रुपमा केक मिक्सिङ गर्न थालेका छन्। ‘यो उत्सव परिवार, एकता र साझा भावनाबारे हो,’मर्क्युर काठमाडौंका महाप्रबन्धक अभिषेक पस्रीचाले भने, ‘हामी यस्तो वातावरण सिर्जना गर्न चाहन्छौं जहाँ हाम्रा पाहुनाहरूले घरजस्तै आत्मीयता र चाडपर्वको आनन्द अनुभव गर्न सकून्।’
केक मिक्सिङमा होटलका अति निकटहरु र वर्षभरी जसले बढी बिजनेश दिएका छन्। ती ट्राभल एजेन्सीहरुलाई बोलाएर सेलिब्रेसन गर्ने गरिन्छ। सामूहिक रुपमा केक मिक्सिङ गरेपछि हाइटिको समेत व्यवस्था हुँदै आएको छ।
के छ यस्को सांस्कृतिक महत्व?
क्रिसमस केक मिसाउने समारोह केवल तयारी प्रक्रिया मात्र होइन, यसमा रमाइलो र खेलकुदको पनि विशेष स्थान हुन्छ। बच्चाहरूले कहिलेकाहीं केकको मिश्रणमा सानो झोला राख्छन्, जसमा भविष्यको शुभकामना वा सानो पुरस्कार हुन्छ। समारोहमा कहिलेकाहीं गीत, कविता र रमाइलो कथाका साथ रमाइलो माहोल सिर्जना गरिन्छ। यसले परिवार र समुदायमा आपसी सम्बन्ध बलियो बनाउँछ।
केक तयार भएपछि, यो उत्सवको केन्द्र बिन्दु बनिन्छ। क्रिसमसको साँझमा, जब परिवार र साथीसँगै बस्छन्, यस केकलाई काटेर बाँड्ने प्रथा हुन्छ। प्रत्येक टुक्रामा शुभकामना समावेश गरिएको हुन्छ र यसलाई खाँदै गर्दा मिठास मात्र होइन्, प्रेम, एकता र समृद्धिको भावना पनि बाँडिन्छ। विशेषगरी आजका व्यस्त जीवनशैलीमा, यस्तो अवसरले परिवारलाई सँगै बस्ने, समय बिताउने र आपसी सम्बन्ध बलियो बनाउने अवसर दिन्छ।

आज विश्वका विभिन्न देशहरूमा क्रिसमस केक मिसाउने परम्परा आधुनिक शैलीमा पनि मनाइन्छ। कतिपय स्थानमा ठूलो समुदायका लागि सार्वजनिक कार्यक्रमको रूपमा, होटल, रेस्टुरेन्ट र सांस्कृतिक केन्द्रहरूमा केक मिसाउने समारोह आयोजना गरिन्छ। यहाँ परम्परागत मिश्रणमा नयाँ स्वाद र नयाँ सामग्री पनि थपिन्छ। तर, मूल भावना—एकता, प्रेम र उत्सवको सन्देश—सधैं कायम रहन्छ।
यस परम्पराको विशेषता के हो भने यो केवल खाना पकाउने वा मीठो तयार गर्ने अभ्यास मात्र होइन। यसले सांस्कृतिक धरोहर, ऐतिहासिक मूल्य र सामाजिक सम्बन्धलाई पनि जगेर्ना गर्छ। १७औं शताब्दीको युरोपमा सुरु भएको यो परम्परा आज विश्वभरको क्रिसमस उत्सवमा एक मिठो र महत्वपूर्ण भाग बनेको छ।
नेपाल बहुसांस्कृतिक समाज भएकोले यहाँ हरेक चाडपर्वहरु उत्सापूर्वक मनाउँदै आएका छन्। हिउँदे बिहानसँगै रंगीन कार्यक्रमले वर्षको सबैभन्दा रमाइलो समय सुरु भएको संकेत गर्छ। क्रिसमसदेखि नयाँ वर्षसम्मको माहोल यसैबाट जम्दै जाने विश्वास पर्यटन व्यवसायीहरुको छ।
यो उत्सव विदेशी परम्पराबाट आएको भए पनि, आतिथ्य र मिलनसारता अनुसार ढालिएको छ—हल्का संगीत, स्थानीय पाहुनाको सहभागिता र नेपाली मिडियाको तस्बिर खिच्ने चहकले यसलाई पूर्ण रूपमा ‘नेपालमै जन्मिएको नयाँ परम्परा’ जस्तै बनाइदिएको पर्यटन व्यवसायी रमेश श्रेष्ठको भनाइ छ।
सिजन सुरु हुनासाथ होटलहरूले ‘क्रिसमस ब्रन्च’, ‘न्यू इयर गाला’, ‘फेस्टिभ प्याकेज’ जस्ता कार्यक्रम घोषणा गर्छन। केक मिक्सिङ सेरेमनी नै यी सबैका लागि मूड–सेटिङ इभेन्ट बन्छ।
युरोपमा १७ औं शताब्दीदेखि सुरु भएको हो केक मिक्सिङ
क्रिसमस केक मिसाउने परम्पराको सुरुवात १७औं शताब्दीदेखि युरोपमा सुरु भएको मानिन्छ। त्यतिबेला, शरद ऋतुको अन्त्यमा, परिवारहरू आपसमा भेला भएर रम वा ब्रान्डी जस्ता मदिरामा भिजाइएका सुकेका फलफूल, बदाम, मसलाहरू र कहिलेकाहीं साना मिठाइ मिसाएर हप्तौंसम्म राखिन्थ्यो। जसले गर्दा फलफूल र मसालाहरूको स्वाद एकआपसमा गहिरो र समृद्ध बन्छ। यसरी तयार गरिएको मिश्रणपछि मात्रै बेक गरेर क्रिसमस केक तयार पारिन्थ्यो।
केक मिसाउने परम्पराको रमाइलो पक्ष यो पनि हो कि यो केवल खाना पकाउने अभ्यास मात्र थिएन। यसलाई परिवार, साथी तथा छिमेकमा एक साथ भएर उत्सव मनाउने सामाजिक अवसरको रूपमा लिइन्थ्यो। बच्चाहरू र बुढाबुढी सबैले यसमा भाग लिँदै रमाइलो गर्थे। केक मिसाउँदा प्रत्येक सामग्रीमा शुभकामना र भविष्यका राम्रो चीजहरूको प्रतीक ठानिन्थ्यो। उदाहरणका लागि, बदाम सम्पन्नता र धनको प्रतीक, सुकेको फल खुशी र स्वास्थ्यको प्रतीक, रम वा ब्रान्डी जीवनमा मिठास र आनन्दको प्रतीक मानिन्थ्यो।
समयसँगै, क्रिसमस केक मिसाउने परम्परा युरोपबाट अन्य संस्कृतिमा पनि फैलियो। ब्रिटेनमा यो परम्परा अझ प्रसिद्ध भयो, जहाँ होटल र सामुदायिक जमघटहरूमा सार्वजनिक समारोहको रूपमा मिसाउने चलन सुरु भयो। आज पनि धेरै घरहरूमा यो परम्परा जीवित छ, जहाँ परिवारका सदस्यहरू एकसाथ भेला भएर केक मिसाउने समारोह गर्छन्। प्रत्येक व्यक्तिले आफ्नै हातले सामग्री राख्छ, रम वा ब्रान्डी खन्याउँछ र यसमा शुभकामना समावेश गर्दछ।